Bagmati Samachar Logo

राजनीतिक दल खाेल्छु, राजा आउने भए आफैँ अघि सर्नुपर्छ : दुर्गा प्रसाईं

 

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।

दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् ।

उनले आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने लगायतका अवरोध भएपछि आफू यो निष्कर्षमा पुगेको प्रसाईंले बताएका छन् ।

‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन् । राजनीतिले बिगारेको यो सुधारका लागि राजनीतिमा संलग्न हुन हामी बाध्य भएका छौं,’ प्रसाईंले भने ।

उनले केही समयमै दलको नाम घोषणा गर्ने बताएका छन् ।

‘म लगायत हाम्रो अभियान र अभियानका साथीहरूले राजनीतिक दल खोली दलमा संलग्न हुने अठोट गरेका छौं । त्यसकारण मैले राजनीतिक शक्ति निर्माणका दल गठन गर्ने निश्चय गरेको छु,’ प्रसाईंले भने ।

उनले आफूले अहीलेसम्म राजाको पक्षमा बोलेको तर अब राजालाई राजगद्दी चाहीए आफै अगाडि आउनु पर्ने बताएका छन् । उनले भने, ‘भगवान रामचन्द्र पनि सीता लिन जाँदा आफैँ जानुभएको थियो । राजाको भूमिका कस्तो रहन्छ, त्यसमा भर पर्छ । मैले यहाँसम्म गरेँ ।’

उनले आफू राजनीतिमा नथाकेको बताएका छन् । अब व्यवस्थामा बसेर व्यवस्था विरोधी आन्दोलन हुने बताए ।

‘राजालाई मैले भेट्दा पनि भनेको हुँ–सरकार हिजो फ्याक्न हिरासतमा पनि बस्यौँ । अब हामी ल्याउन तयार छौँ भनेको हो । राजा समाएको र छोडेको भन्ने हुँदैन । राजा र देउता आफ्नो ठाउँमा छन् ।”

उनले राप्रपाभन्दा आफूहरु फरक हुने बताए ।