Bagmati Samachar Logo

बैदेशिक रोजगारीमा जान बाध्य युवालाई स्वदेशमै आत्मनिर्भर बनाउनु पर्छ : प्रचण्ड

काठमाडाैं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैदेशिक रोजगारीमा जान बाध्य युवालाई स्वदेशमै ज्ञानसिप प्रयोग गरेरपनि सफल भइन्छ भनेर सन्देश दिनेगरी स्थानीय स्तरमा काम हुनु पर्ने बताएका छन् ।

शुक्रवार चाँगुनारायण सिटी, एभोकाड़ो सिटी अभियानको तीन वर्षे घोषित कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले नागरिकस्तरबाट पनि ठुला अभियान सफल पार्न सकिन्छ भन्ने उदाहरण अभियानले प्रस्तुत गरेको बताएका छन् ।

उनले भने, ‘स्वदेशमै गर्न सकिन्छ भन्ने सकारात्मक सोच र नेपाली इतिहास, प्रकृति र परम्परागत एवं सास्कृतिक ज्ञान,सीप र सम्पत्ति प्रति गर्व गर्ने वातावरण निर्माण गर्नुपर्छ ।’

पूजीवादी अर्थतन्त्रको नक्कल गरेर देश अघि नबढ्ने निष्कर्ष सुनाउदै प्रचण्डले देशलाई आत्मनिर्भरतातर्फ लैजान स्थानीय जनताको श्रम, सीप र सहभागितामा स्थानीय तहहरुले राज्यलाई घचेट्नु पर्नेमा बताए ।

चाँगुनारायण नगरपालिकामा ‘एभोकाडो सिटी’ अभियानले सामुहिक एकताको राष्ट्रिय संदेश दिएको प्रचण्डले बताए । उनले भने, ‘हामीमा तानातान र अस्वस्थ प्रतिस्पर्धा हुनेगर्छ । त्यसको विपरित सबै राजनीतिक दल, संघसस्था र स्थानीय जनताको साथ् र सहयोगमा सम्पन्न यो अभियानले राष्ट्रिय संदेश दिएको छ ।’

अन्य पालिकामा पनि औचित्य र आवश्यकताको आधारमा यस्ता सामाजिक र आर्थिक अभियान संचालन गर्नुपर्ने उनले जोड दिएका छन् ।

स्वास्थ्य र पर्यावरणको दृष्टिले मात्र होइन, उत्पादन र आम्दानीको दृष्टिले पनि एभोकाड़ो अभियानले राम्रो काम गरेको प्रचण्डले बताए । उनले भने, ‘साधनश्रोत नभएरै पनि जनस्तरमै जुटाउदै जनहितका अभियान गर्न सकिन्छ भन्ने यो एउटा सफल उदाहरण हो ।’

प्रचण्डले देशैभरका पालिकाका जनप्रतिनिधि र स्थानीय जनतालाई आफ्नो पालिकामा विकास र सम्वृद्धिको सम्भावना पहिचान गर्न र उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिका अभियान संचालन गर्न आग्रह समेत गरे । उनले भने, ‘कृषी, पर्यटन, उर्जा र उद्योग लगायतका क्षेत्रमा पालिकाको विशिष्टता र विशेषताको आधारमा सम्भावना पहिचान गरौँ । रातारात परिणाम नआएपनि निरन्तरको सामुहिक एकता र सक्रियताले सम्वृद्धि सम्भव छ ।’

उनले सुशासन, सामाजिक न्याय र सम्वृद्धिको यात्रामा आफू नेतृत्वको अघिल्लो सरकारले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको बाटो देखाएको दावी गर्दै आफू र आफ्नो पार्टीको तर्फबाट आत्मनिर्भरतातर्फका सबैखाले अभियानलाई सदैव साथ र समर्थन रहने प्रतिवद्धता प्रकट गरेका थिए ।

चाँगुनारायण नगरपालिकामा ‘एक घर, दुई बोट एभोकाडो’ रोप्ने यस क्षेत्रमा अर्थराजनीतिका जानकार मानिने वौद्धिक नेता डिपी ढकालको परिकल्पना र मार्गनिर्देशन बमोजिम २०८० श्रावणदेखि संचालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान अन्तर्गत तीन वर्षमा १० हजार बढी घरमा २१ हजार एभोकाड़ोको विरुवा रोपिएका अभियानका संयोजक नरेश खड्काले बताए । ।

एक घरले एभोकाड़ो बेचेर कम्तिमा ३० देखि ५० हजार वार्षिक आम्दानी गर्ने अभियानका प्रमुख व्यक्ति डिपी ढकालले बताए । उनले भने, ‘एभोकाडो अभियानमार्फत चाँगुनारायणमा वार्षिक ४ करोड बढी अतिरिक्त आम्दानीको श्रोत सुनिश्चित गरिएको छ । उत्पादित एभोकाडोको बजारीकरणमा पनि स्पष्ट योजना रहेको छ ।’

अभियानमा करिब ३ सय अभियन्ताहरु सक्रियतापूर्वक सहभागी भएका र उनीहरुले पछिसम्म स्थानीयलाई प्राविधिक र बजार व्यवस्थापनका लागि सहयोग पुर्याइरहने अभियानका परिकल्पनाकार ढकालले जानकारी गराए । शुक्रवार तीन वर्षे कार्यक्रम समापनका अवसरमा अभियन्ताहरुलाई सम्मान समेत गरिएको थियो ।

सो अवसरमा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापामगरले भौतिक पूर्वाधारलाई मात्र विकास मान्ने मनोविज्ञानलाई चिर्दै चाँगुनारायणमा स्वास्थ्य र सम्वृद्धिको विकासका लागि संचालित एभोकाड़ो अभियान सफल भएको बताए । उनले शहरी सुन्दरता, हरियाली प्रवर्द्धन र पर्यावरणको रक्षाको लागि पनि अभियानले उल्लेखनीय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।