Bagmati Samachar Logo

एमाले नेताहरुले भने– विद्या भण्डारीलाई पार्टीमा अटाउनुपर्छ, लडाइ गरेर कहिँ पुगिँदैन

काठमाडौं । नेकपा एमालेले बागमती प्रदेशमा प्रस्तावित विधानका माथि सुझाव मागेको छ । बागमतीका १ सय १९ पालिका इञ्चार्जसँग विधानमाथि छलफल गरेको छ । छलफलमा सहभागीहरूले पूर्वराष्ट्रपति विद्या भण्डारीबारे एमाले केन्द्रीय कमिटीले गरेको निर्णय ठिक नभएको धारणा राखेकाा छन् । पालिका इन्चार्जहरुले भण्डारीलाई पार्टीभित्र अटाउनु पर्ने सुझाव दिएका छन् ।

बागमती प्रदेश कमिटीले भूगोलमा काम गर्ने इञ्चार्जहरूसँग प्रस्तावित विधानमाथि राय मागेको थियो । बुधबार काठमाडौंमा भएको उक्त छलफलमा बोल्ने अधिकांश पालिका इञ्चार्जहरूले भण्डारीलाई सदस्यता नदिने एमालेको निर्णयप्रति गलत भएको धारणा राखेको एक सहभागी नेताले बताए ।

एक नेताले सहभागीको भनाइ भन्दै भने, ‘पहिलो वर्ष चाहिँ सदस्यता दिने, अनि अहिले नदिने भन्ने कुरा के स्वार्थले भयो ? नेतृत्वप्रति इञ्चार्ज कमरेडहरूका धेरै प्रश्नहरू छन् । त्यसको एकमुष्ट जवाफ विधान महाधिवेशनमा दिनेछौँ ।’

उनका अनुसार बैठकमा बोल्ने आधाभन्दा धेरैले भण्डारीको बारेमा कुरा राखेका थिए । उनीहरूले जबजको जन्मदाताकै परिवारलाई एमालेले नसमेट्ने कुराले आम कार्यकर्तामा निराशा पैदा भइरहेको धारणा राखेका थिए ।

भण्डारी राजनीतिमा आउने बाटो न कानुनले छेकेको छ, न संविधानले छेकेको छ , एमालेले छेक्नु गलत भएको अधिकासंको धारण रहेको सहभागी अर्का नेताले बताए ।

उनका अनुसार भूगोलको काममा खटिँदा अधिकांश कार्यकर्ता र आम जनताले एमाले नेतृत्वप्रति आक्रोशपूर्ण भावले हेर्ने गरेको बताए । ‘तल्लो तहमा पुगेर काम गर्ने त हामी हौँ नि । नेताहरूले किन बुझिरहेका छैनन् ? यो बेला पार्टीलाई एक गरेर लैजानुपर्नेमा हिजो एमाले बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्तिलाई इग्नोर गरेर जाँदा कहिँ पुगिँदैन भनेर कसले सम्झाउने हो ?’ उनले भने ।

एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले बुधबार काठमाडौंमा १ सय १९ पालिकाका इञ्चार्जहरूसँग छलफल गरिएको पुष्टि गरे । उनले विधान महाधिवेशन आइरहेको हुँदा सोही विषयलाई केन्द्रित गरेर छलफल भएको जानकारी दिए ।