यो गठबन्धन २०८४ सम्म जान्छ, जान्छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले कांग्रेसको गठबन्धन ०८४ सालको निर्वाचनसम्म सँगै जाने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । बैठकमा उनले अस्थिरताको जतिसुकै चाहना राखे पनि त्यो सफल नहुने दाबी गरेका छन् ।
‘बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहनेजस्तो अस्थिरताको यो पक्षपोषण केका लागि ? देशका लागि, राजनीति र नीतिगत स्थिरताका लागि त यो पक्कै होइन, र हुन सक्दैन । म सबैलाई स्पष्ट पार्न चाहन्छु, अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ ।’
मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौँ र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔँ भनेर संसद्का दुई प्रमुख दलहरू मिलेर, अन्य दलहरूको समेत सहयोगमा सरकार बनेको बताउँदै ओलीले विपक्षमा रहेका दलहरूलाई यो स्थिरता अप्रिय लागिरहेको बताए ।
उनले आफूहरूलाई यो प्रणाली ज्यान सरह प्रिय रहेको बताउँदै यसको जीवनको लागि हामी कस्तै कष्ट सहन पनि तत्पर रहेको बताए । ।
‘कति लोकतन्त्र मन नपर्ने पनि यहीँ हुन सक्छौँ । कति लोकतन्त्रको संवर्द्धनका लागि हैन, त्यसको उपभोग गर्ने– त्यसको हुर्मत लिने अभीष्ट भएका पनि हुनसक्छौँ,’ ओलीले बताए ।
प्रतिक्रिया दिनुहोस्: