Bagmati Samachar Logo

जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी काम गर्छु : मुख्यमन्त्री बानियाँ

हेटोँडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी प्रदेश सरकारले काम गर्ने बताएका छन् । प्रदेशसभाको आजको बैठकको विशेष समयमा उनले जनतालाई अनुभूति हुने गरी जनमुखी, सेवामुखी, विकासमुखी र आयमुखी काम गर्न प्रदेश सरकार अग्रसर रहेको बताए ।
भ्रष्टाचारमुक्त, सुशासनयुक्त, पारदर्शी, जवाफदेही प्रदेश सरकार बनाउन प्रयत्नशील रहेको जनाउँदै मुख्यमन्त्री बानियाँले उत्पादन र रोजगारी बढाउने कार्यलाई सरकारले प्राथमिकताका साथ अघि बढाउँदै लगेको बताए । समावेशी, दिगो, आत्मनिर्भर र समृद्ध प्रदेश निर्माण गर्नु वर्तमान सरकारको परिकल्पना भएको भन्दै उनले विगतमा भएका सकारात्मक कामलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गरिब जनताप्रति सरकार जिम्मेवार भएर अघि बढ्ने बताउँदै मुख्यमन्त्री बानियाँले मेडिकल, आयुर्वेदिक र भेटेरिनरी पढ्न चाहने, आर्थिक अवस्था कमजोर भएका गरिब तथा विपन्न परिवारका छोराछोरीलाई प्रदेश सरकारले छात्रवृत्तिमा पठनपाठन गराइदिने बताए ।

“गरिब निमुखाका छोराछोरी जसले नाम निकालेका छन्, तर उनीहरूसँग पढ्ने पैसा छैन, ती परिवारका छोराछोरीलाई प्रदेश सरकारले जिम्मेवारी लिएर अध्ययनअध्यापन गराउनेछ”, मुख्यमन्त्री बानियाँले भन्नुभयो, “अब गरिब निमुखामध्ये दुई जनालाई मेडिकलमा, दुई जनालाई आयुर्वेदतर्फ र दुई जनालाई भेटेरिनरीतर्फ प्रदेश सरकारले पढाउने छ ।”

सरकार भाषणबाट होइन कामबाट प्रमाणित गर्ने बताउँदै उहाँले चालु आव २०८२र८३ को बजेटसम्बन्धी सङ्कल्प प्रस्तावलाई सरकारले आत्मसात गरी अघि बढ्ने बताए ।