Bagmati Samachar Logo

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज मंगलबार विश्वासको मत लिँदैछन् ।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनी आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई दलको नेतामा पराजित गरेर दल नेता बनेका थिए । दल नेता बनेपछि मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

बानियाँले विश्वासको मत लिनका लागि आज दिउँसो ४ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप लगाएका छन् ।
तर कांग्रेस भित्रको आन्तरिक विवादका कारण लामा पक्षले भोट दिन नदिने निश्चित छैन । यदि आन्तरिक विवाद मिलने भने विश्वासको मत लिने मिति सर्न सक्ने बताइन्छ ।