बागमती कांग्रेसमा विवाद : लामा समूहले फ्लोर क्रसको चेतावनी पछि मुख्यमन्त्री बानीयाँ तनावमा
हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सल्टनुको सट्टा झन झन बढी रहेको छ । कांग्रेसका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले सम्झौता अनुसार काम नगरे साथ नदिने प्रस्ट पारेका छन् । लामाले मुख्यमन्त्रीबाट राजीनामा दिनु भन्दा पहीला आफूले नियुक्त गरेका तर शपथ नखाएका तीन जना मन्त्रीलाई पनि शपथ खुवाउनु पर्ने कुरामा नेतृत्वले सहमति जनाएपनि अहीले मुख्यमन्त्री बानीयाँले आलटाल गरेकाले लामा समूहले विश्वासको मत नदिने तयारी गरेको छ ।
लामाको नेतृत्वमा रहेका १४ जना सांसदले समर्थन गर्ने नगर्ने अन्योलमा रहेको बेला बानियाँले यही २७ साउनमा विश्वासको मत लिने तयारी गरेका छन् । तर कांग्रेसले पनि प्रदेश सांसदलाई ह्वीप जारी गरेको छ । प्रदेशमा ह्वीप जारी भएको अवस्थामा ती सांसदलाई फ्लोर क्रस गर्न पनि समस्या हुनेछ ।
लामापक्षले सहमती अनुसार आफ्ना तीन सांसद गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री बनाउनुपर्ने अडान राखेको छ । उनीहरूलाई मन्त्रीमा निरन्तरता दिने सहमति भएको र सोही सर्तमा मुख्यमन्त्रीबाट लामाले राजीनामा दिएको सो समूहको दाबी छ । यसका लागि लामा आफैँ शीर्ष नेताहरूसँग भेट गरेर छलफलमा छन् । सहमति कार्यान्वयन नभए सामूहिक राजीनामा दिने वा विश्वासको मतमै असहयोग गर्ने चेतावनी सो समूहको छ ।
मुख्यमन्त्री बानियाँले यही २० साउनमा कांग्रेस–एमाले गठबन्धनका ६४ सांसदको समर्थनमा सरकार गठन गरेका थिए । तर, बानियाँकै दलभित्र देखिएको असहमति अब उनको नेतृत्वको सरकारको स्थायित्वमा मुख्य चुनौती बनेको छ । संविधानको धारा १६८ को उपधारा २ अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।
ह्वीप जारी भए पनि लामापक्षका १४ सांसदले फ्लोर क्रस गरे सरकार अल्पमतमा पर्न सक्छ । ११० सदस्यीय प्रदेशसभामा बानियाँलाई ५६ मत आवश्यक पर्छ । एमालेका २७ सांसदको समर्थन सुनिश्चित मानिए पनि कांग्रेसभित्रको खिचातानीले समीकरण अस्थिर बनेको छ । लामा समूहले तीन मन्त्री नपाए फ्लोर क्रसको चेतावनी दिएपछि मुख्यमन्त्री बानियाँ तनावमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्: