Bagmati Samachar Logo

आर्यघाटमा जलिरहेको शवबाट मासु र हड्डी चोरी गरेर अघोरी बाबालाई बेचेको आशंकामा एक जना पक्राउ

काठमाडौं । पशुपति आर्यघाटमा जलिरहेको शवबाट मांसु र हड्डी चोरी गरेर बेचेको घटना सार्वजनिक भएको छ । उक्त घटना सार्वजनिक भएसँगै प्रहरीले उक्त घटनासँग जोडिएका गणेश ढकाललाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ परेका ढकालमाथि अनुसन्धान गरिरहेको प्रहरीको प्रारम्भिक अनुमान शवबाट मासु र हड्डी निकालेर मसान जगाउने अघोरी बाबालाई दिएको हुन सक्ने रहेको छ ।

शुक्रबार मलामीले दिएको निवेदनका आधारमा पशुपति आर्यघाटमा घाटे काम गर्ने ढकाललाई प्रहरीले पक्राउ गरेको थियो । ढकालले अहिलेसम्म के कारणले शवबाट मासु र हड्डी निकालेर अरुलाई दिएको भनेर नभनेको प्रहरीले जानकारी दिएको छ ।

काभ्रेको बनेपा–९ का राम शाहीको शव अत्येष्टिका क्रममा शुक्रबार शव दहन भइसकेपछि एक टुक्रा मासु झिकेर अन्य व्यक्तिलाई रहस्यमय तवरले दिइएको भन्दै शाहीका मलामीले प्रहरीलाई बोलाएर जानकारी दिएका थिए ।

प्रहरीले शुक्रबार नै उक्त शव दहन गर्ने घाटे ढकाललाई पक्राउ गरेर गौशाला हिरासतमा राखेको छ । तर, उनले अहिलेसम्म कसलाई र किन उक्त मासुको टुक्रा दिएको भन्नेबारे केही नबताएको तर आफूले मासु नभएर हड्डी झिकेको बयान दिएको प्रहरी वृत्त, गौशालाले जानकारी दिएको छ ।

मानिसको शवबाट मासु र हड्डी चोरी हुने घटनानै प्रहरीका लागि नयाँ हो । यसमा पक्राउ गरेका व्यक्तिलाई कुन कानुनअनुसार कारवाही र अनुसन्धान गर्ने भन्ने कानून नै नभएको प्रहरीले बताएको छ । आइतबार अभद्र व्यवहारमा म्याद थप गरी घटनाबारे थप अनुसन्धान गर्ने तयारी प्रहरीले गरेको छ ।

घाटे गणेशले मृतक शाहीको शवबाट मासु झिकेर जोगीजस्तो देखिने व्यक्तिलाई पाँच सय रुपैयाँमा विक्री गरेको आरोप शाहीका मलामीले लगाएका छन् । त्यसमध्ये सय रूपैयाँ सहयोगीलाई र चार सय रुपैयाँ ढकाल आफैँले राखेको उनीहरुको आरोप छ । तर, ढकालले पैसा लिएको कुरा स्वीकार गरेका छैनन् ।

शुक्रबार पक्राउ परेका घाटेसँगको सोधपुछपछि अनुसन्धानरत एक प्रहरीका अनुसार त्यस्तो हुनुका पछाडि कतिपय अघोरी बाबा मसान जगाउनका निम्ति मान्छेको हड्डी खेलाउने र मासु खाने बताइन्छ ।