Bagmati Samachar Logo

कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु, घाइते कैदी अस्पताल भर्ना

काठमाडौं । कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार रातिदेखि नै कारागारमा कैदीबन्दीबीच भएको झडपले शुक्रबार राती उग्ररुप लिएको छ । झडप हुँदा घाइते भएका धनगढी ४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले बताए ।

झडपमा थप ४७ जना घाइते छन् ।

उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे छानबिन भइरहेको छ। कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच झडप भएको हो ।

तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । एक जनाको आइसीयुमा उपचार भैरहेको छ ।

आफन्तहरुले पनि घाइते भेट्न पाएका छैनन् । उनीहरुले घाइते भेट्न पाउनु पर्ने बताएका छन् । मिडियालाई पनि अस्पतालभित्र जान दिइएको छैन ।

केहीको टाउको फुटेको छ । केहीको खुट्टा भाँचिएको छ । घाइते भएका ४७ जना कैदीबन्दीलाई अस्पताल भर्ना गरिएको छ ।

विगत केही समयदेखि यहाँ दुई समुहबीच विवाद र झडप हुने गरेको छ ।