Bagmati Samachar Logo

जापानको प्राविधिक, लगानी, र अनुसन्धानका लागि वातावरण बनाउन तयार छौँ : सञ्चारमन्त्री गुरुङ

काठमाडाै‌ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल–जापानबिचको प्राविधिक साझेदारीलाई सहज बनाउने प्रतिबद्धता जनाएका छन् ।

नेपाल र जापानको प्राविधिक साझेदारीलाई सहज बनाउन काठमाडौमा आयोजना गरिएको जापान–नेपाल आइटी फोरम २०२५ लाई सम्बोधन गर्दै मन्त्री गुरुङले उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘‘हामी यसलाई जापान–नेपाल आइटी करिडोरको जगको रूपमा परिकल्पना गरेका छौँ । जुन नवप्रवर्तन, लगानी, पूर्वाधार र प्रेरणाको गतिशील पुल भएको छ । यो कार्यक्रमले दीर्घकालीन रणनीतिक साझेदारीको सुरुवातलाई सङ्केत गर्दछ । नेपाल–जापानबिचको प्राविधिक साझेदारीलाई सहज बनाउछौँ ।’

नेपाल–जापान प्राविधिक कूटनीतिमा एक नयाँ अध्यायको सुरुवात भएको मन्त्री गुरुङले बताए । नेपाल सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मार्फत डिजिटल र आइसिटी क्षेत्रमा पारस्परिक वृद्धिलाई प्रवर्द्धन गर्न जापान सरकारसँग रणनीतिक सहकार्यलाई सक्रिय रूपमा अगाडि बढाई रहेको बताएका छन् ।

उनले भने, ‘‘डिजिटल रूपान्तरण, आर्थिक र आधुनिकीकरणको लागि नेपालको दीर्घकालीन दृष्टिकोण अनुरूप, नेपालले उच्च प्राथमिकताका क्षेत्रमा जापानबाट व्यापक सहयोग र लगानी सहयोग खोजिरहेको छ।’

सरकारले क्षेत्रीय र विश्वव्यापी आवश्यकता पूरा गर्न हरित डेटा पूर्वाधार निर्माण गर्न जापानी लगानी आवश्यक भएको बताए ।

राष्ट्रिय डिजिटल दृष्टिकोणलाई साकार पार्न जापानको प्राविधिक र वित्तीय सहकार्य महत्त्वपूर्ण हुने बताएका छन् । उनले भने, ‘नेपालले सरकार–जापान सरकार (जिटुजी) ढाँचा अन्तर्गत आफ्नै उपग्रह प्रक्षेपण गर्न जापानको प्राविधिक सहयोग चाहीएको छ । यो पहलले ग्रामीण सम्पर्क, मौसम पूर्वानुमान, विपद् तयारी र दूर शिक्षालाई सुदृढ बनाउने छ ।’

जापानी लगानीकर्ता, अनुसन्धानकर्ता र प्राविधिक उद्यमीलाई नेपाललाई सूचना प्रविधि नवप्रवर्तन र सहकार्यको लागि आफ्नो मनपर्ने गन्तव्य बनाउनसमेत मन्त्री गुरुङले अनुरोध गरेका छन् । सरकारले जापानी लगानीकर्ता, अनुसन्धानकर्ता र प्राविधिकलाई पूर्णरुपमा संस्थागत सहयोग, नियामक स्पष्टता र नीतिगत समन्वय गर्न तयार रहेको बताए ।