Bagmati Samachar Logo

रामहरिजीले नैतिक रुपमा पनि सभापतिबाट राजीनामा दिनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘२ वर्षे कुलिङ पिरियड’ सम्बन्धी त्रुटिमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय सभागृहमा बिहीबार अनेरास्ववियु क्रान्तिकारीले आयोजना गरेको विद्यार्थीसँग प्रचण्ड संवाद कार्यक्रममा प्रचण्डले खतिवडाले राजीनामा दिनुपर्ने बताए । उनले भने, ‘रामहरिजीले नैतिक जिम्मेवार ठहरिनुभएको छ । उहाँलाई नैतिक रूपमा सभापतिमा बस्ने आधार छैन । अब राजीनामा दिएर राजनीतिक व्यक्तित्वको सुरक्षा गर्नुपर्छ ।’

विशेष संसदीय छानबिन समितिको प्रतिवेदनले पनि सभापति खतिवडा नैतिक जिम्मेवार रहेको ठहर गरेको छ । प्रचण्डले उक्त विधेकमाथि भएको त्रुटिको जिम्मेवारी आफूले मात्र नभएर सिंगो सदनले लिनुपर्ने बताए ।

उनले भने, ‘म सदस्य भएको राज्य व्यवस्था समितिले मात्र होइन । २७५ जनाले नै जिम्मेवारी लिनुपर्छ । नैतिक जिम्मेवारी सिंगो सदनले लिनुपर्छ । राज्य व्यवस्था समितिले त गल्ती भयो सच्याउनुपर्‍यो भनेर राष्ट्रियसभालाई पत्र लेखेको छ । हामीले त गल्ती भएको जिम्मेवारी बोध गरेर सच्याउने ठाउँ भनिदिएका छौँ ।’ संसदले सर्वसम्मत पास गरेको विधेयकमा गल्ती हुनु संसदको जिम्मेवारी हो ।