विद्यालय विधेयक पास गर्न सडकमा आन्दोलन गर्नु पर्दैन : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तागठबन्धनका कारण विद्यालय शिक्षा विधेयक संसदमा नै पेश नभएको बताएका छन् ।
प्रचण्डले बिहीबार राष्ट्रिय सभागृहमा अनेरास्ववियु क्रान्तिकारीले आयोजना गरेको विद्यार्थीसँग प्रचण्ड संवाद कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
विद्यालय शिक्षा विधेयक पास गराउन सडकमा आन्दोलन गर्न आवश्यक नभएको बताएका छन् । उनले भने,‘यो सरकारले चाहेमा विधेयक संसदमा पेश गर्न अप्ठेरो छैन । यो विधेयक संसदमा पेश गर्नको लागि सडकमा आन्दोलन गर्न पनि आवश्यक छैन । तर सरकारले नै चाहेको छैन ।’
प्रचण्डले सरकारमा सहभागी एमाले र कांग्रेस विधेयकका विरुद्धमा भएकाले सदन पेश नभएको आरोप लगाएका छन् ।
उनले विद्यालय शिक्षा विधेयक आफ्नो पालामा दर्ता भएको बताए ।
उनले भने, ‘विद्यालय शिक्षा विधेयक मेरो प्रधानमन्त्रित्वकालमै दर्ता भएपछि शिक्षकहरूसँग भएका सम्झौताहरूलाई समेटेर विधेयक बनाउने कुरामा वर्तमान सरकारको नेतृत्वकर्ता एमाले र केपी ओली जी नै त्यसको विरुद्ध जानु भयो । जसका कारण असार १५ गते पास हुनु पर्ने विधेयक अहीलेसम्म संसदमा पेश भएको छैन ।’
आफूहरूले शिक्षक र विद्यार्थीको पक्षमा बोलिरहँदा प्रधानमन्त्री ओली शिक्षकहरूलाई विद्यार्थी पास नगर्ने शिक्षकलाई किन सेवा सुविधा दिन भनेर गालीगलौचमा लागेको पनि बताए ।
उनले भने, ‘ हामीले शिक्षकहरूको पक्षमा, विद्यार्थीको पक्षमा, विद्यालय शिक्षा विधेयकको पक्षमा बोल्दै गर्दा शिक्षकहरूलाई गाली गरेर किन चाहियो यिनीहरूलाई सेवा सुविधा भनेर गाली गर्ने व्यक्ति नै प्रधानमन्त्री बन्नु भएको छ । उहाँ शिक्षकको पक्षमा हुनु हुन्न अनि शिक्षा विधेयक कसरी आउछ ? उहाँ ढाँटछल गर्न सिपालु हुनुहुन्छ तर शिक्षामा सुधार गर्ने कुरामा ध्यान छैन, उहाँहरू नीजिकरणतिर हुनुहुन्छ, सार्वजनिक शिक्षाको पक्षमा हुनुहुन्न । विधेयक आएमा शिक्षक विद्यार्थीलाई फाइदा हुन्छ । उहाँ त्यसको पक्षमा हुनु हुन्न ।’
असार १५ मै पारित गर्ने भनिएको विद्यालय शिक्षा विधेयक सरकारकै कारण रोकिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्: