Bagmati Samachar Logo

पानीको बोतलको विषयमा विवाद हुँदा बौद्धमा युवकमाथि खुकुरी प्रहार

काठमाडौँ । काठमाडौँको बौद्धमा युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा दुई जनालाई पक्राउ परेका छन् । साउन १८ मा लामा पेट्रोल पम्प अगाडी मकवानपुर घर भएर गोकर्णेश्वर नगरपालिका–४ नाम्गेल बस्ने २७ वर्षीय सुरेन्द्र थोकरमाथि खुकुरी प्रहार भएको थियो ।

खुकुरी प्रहारमा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको भेडेटार घर भएर दक्षिणढोका बस्दै आएका २० वर्षीय आशिष राई र मोरङ उर्लाबारी नगरपालिका घर भएर जोरपाटी बस्दै आएका १८ वर्षीय संस्कार मगर छन् । उनीहरूलाई बुधवार काठमाडौँ महानगरपालिका–६ रामहिटी नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

अघिल्लो दिन मिनिरल वाटरको बोतलको विषयमा विवाद हुँदा भोलिपल्ट खुकुरी हानेको आरोपीहरूले प्रहरीसँग बताएका छन् । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।

पीडित युवकको अहिले वीर अस्पतालमा उपचार हुँदैछ । उनको बायाँ कान पछाडिको भागमा चोट लागेको बताइएको छ । खुकुरी प्रहारमा संलग्नहरू लागुऔषध प्रयोगकर्ता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनास्थल नजिकबाट प्रहरीले दुई वटा खुकुरी बरामद गरेको छ ।