Bagmati Samachar Logo

रास्वपालाई विश्वप्रकाशको सुझाव–अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुनुस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुन सुझाव दिएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री शर्माले उक्त कुरा बताएका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेकव दाबी गर्दै संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक आयोग गठनको माग राख्दै विपक्षी दल रास्वपाले १३ जेठदेखि संसद बैठक बहिष्कार गर्दै आएको छ ।

महामन्त्री शर्माले रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा नै भिजिट भिसामा सबैभन्दा बढी नेपाली विदेश गएको तथ्यांक पेस गरे । ‘तपाईंहरूले आफ्नै सभापति गृहमन्त्री भएका बेलामा भिजिट भिसामा मानिसलाई बेच्यौ त भन्न खोज्नु भएको होइन,’ शर्माले प्रश्न गरे ।

महामन्त्री शर्माले रास्वपाका सांसदहरूले निरन्तर संसद बैठक बहिष्कार गरिरहेको भन्दै भिजिट भिसामा जोजो संलग्न छन् उनीहरूमाथि कारबाही हुनुपर्ने बताए । तर, शर्माले नयाँ दल सहमतिमा आउन नचाहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रतिपक्षी दलको भावनाको कदर गर्दै छानबिन समितिसमेत गठन भएको बताए ।

महामन्त्री शर्माले पछिल्ला पाँच गृहमन्त्रीको कार्यकालमा भिजिट भिसामा विदेश गएका नेपालीहरूको संख्या लामिछाने गृहमन्त्री भएका बेलामा धेरै रहेको बताए ।