Bagmati Samachar Logo

धरौटीमा छुटेका दुर्गा प्रसाई विरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च जाने

काठमाडौं । तीनकुनेमा भएको राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिएको छ । उच्च अदालत पाटनले राज्यविरुद्धको कसुरलगायतको मुद्दामा प्रसाईंलाई २८ लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले यस्तो आदेश गरेको हो ।

यसअघि प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

त्यस्तै, उच्च अदालत पाटनकै अर्को इजलासले प्रसाईंलाई बैकिङ कसुरको मुद्दामा २५ लाख धरौटी माग गरेको छ । न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको वाणिज्य इजलासले ‘थुनछेक’ बहसपछी २५ लाख धरौटी माग गरेको हो ।

इजलासले ‘उनी तत्काल निर्दोष रहेछन् भन्ने भन्न नसकिने भए पनि क्यान्सर रोगबाट पीडित रहेको विषयलाई समेत मध्यनजर गर्दै’ धरौटी खुलाएको जनाएको छ ।

महान्यायाधिवक्ता कार्यालयले आदेश अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्न उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई निर्देशन दिएको हो ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता उद्धव पुडासैनीले उक्त आदेश प्रचलित कानून र न्यायको मान्य सिद्धान्त विपरीत भएकाले आदेश बदरको माग गरेर आफूहरु सर्वोच्च अदालत जाने बताए ।