जनार्दनले बैठकमा भने–पहिले प्रचण्डले आत्मालोचना गर्नु पर्छ अनि म गर्छु
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टीमा भएका सबै कमीकमजोरीका बारेमा पहिला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मालोचना गर्नुपर्ने अडान राखेका छन् ।
सोमबारको बैठकमा शर्माले पार्टीमा अहिलेसम्म भएका कमीकजोरीका बारेमा अध्यक्ष प्रचण्डले आत्मालोचना गरेपछि मात्रै आफूले पनि आत्मालोचना गर्ने अडान राखेको एक स्थायी समिति सदस्यले बताए ।
ती सदस्यले शर्माको भनाइ भन्दै भने, ‘उहाँले पहीला पार्टीमा भएका कमीकमजोरीको जिम्मेवारी अध्यक्ष प्रचण्डले लिएर आत्मालोचना गर्नुपर्छ । उहाँले आत्मालोचना गरेपछि म गर्छु । होइन भने म मात्र आत्मालोचना गर्दैन ।’ शर्माले माइन्युटमा हस्ताक्षर नगरेकोमा आत्मालोचना गरेका पनि ती सदस्यले बताए ।
ती सदस्यले भने,‘माइन्युटमा हस्ताक्षर नगर्नु गल्ती भयो भन्नुभयो । तर नेतृत्वबारे बोलेकोमा गर्नुभएन । नेतृत्वले पनि गल्ती गरेकाले उहाँले पनि गर्नुपर्छ भन्नुभयो ।’ बैठकले पार्टी नेतृत्वको आलोचना गर्नु गल्ती भएको निस्कर्ष निकालेको एक स्थायी समिति सदस्यले बताए । ती सदस्यले भने, ‘बैठकले उहाँले सार्वजनिक ठाउँमा बोलेको कुरा गलत भएको निष्कर्ष निकालेको छ । उहाँले गल्ती सच्याउनुपर्ने बैठकले निर्णय गरेको छ । तर उहाँले गल्ती सच्याउन मान्नुभएन ।’
शर्माले साउन ६ गते मनमोहन अधिकारीबाकेह नेपालका सबै कम्युनिस्ट प्रधानमन्त्री भ्रष्ट भएको बताएका थिए । जसका कारण उनको माओवादीमा आलोचना हुँदै आएको छ । उक्त दिन बोलेको कुरा गल्ती भएको भन्दै बैठकले आत्मालोचना गर्न भनेको थियो ।
प्रतिक्रिया दिनुहोस्: