प्रचण्ड राजनेताको रुपमा स्थापित हुनु भएको छन् : देव गुरुङ
काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व सर्वमान्य रुपमा स्थापित भएको बताएका छन् ।
सोमबार जारी पार्टीको स्थायी समिति बैठकमा बोल्दै गुरुङले अध्यक्ष प्रचण्ड सर्वमान्य रुपमा नेतृत्वको रूपमा स्थापित भएको बताएका छन् ।
गुरुङले नेतृत्व सर्वमान्य भएको र पार्टीका लागि पनि सुनौलो अवसर भएको बताएको बैठकमा सहभागी एक स्थायी समिति सदस्यले बताए ।
गुरुङको भनाइ भन्दै ती सदस्यले भने, ‘अध्यक्षको नेतृत्व सर्वमान्य भएको छ । राजनेताको रूपमा स्थापित भएको छ । यो हाम्रो सुनौलो अवसर हो । यस्तो बेलामा लिडरसिपका बारेमा प्रश्न उठाउनु ठीक होइन ।’
गुरुङले उपमहासचिव जनार्दन शर्माले नेतृत्वका बारेमा बाहिर बोलेको विषयमा गलत भएको बताए । उनले भने, ‘उत्तराधिकारी बनाएर बनिने कुरा होइन । तोकेर हुने कुरा होइन । आन्दोलनका क्रममा हुने कुरा हो । विधि पद्धतिबाहिर जानु ठीक छैन । गलत हुन्छ ।’
गुरुङले बैठकमा हिजो किरण र बाबुरामले पनि नयाँ पुस्ताको कुरा उठाउनुभएको थियो, जुन गलत भएको धारणा राखेको ती सदस्यले बताए । ती सदस्यले भने, ‘किरणजी, बाबुरामजीले पनि नयाँ पुस्ताको कुरा उठाउनुभयो । कम्युनिस्टमा उत्तराधिकारी तोकेर जाने कुरा होइन । नेतृत्वको विकास र परिवर्तन आन्दोलबाट हुन्छ । विशुद्ध प्राविधिक रूपमा जान खोज्नु बुर्जुवा काम हो । हामी कम्युनिस्ट हौँ ।’
गुरुङले प्राधिकार कसैले दिएर नभएको बताएका छन् । उनले भनेका छन्, ‘प्रचण्ड आन्दोलनबाट प्राधिकार हुनुभएको हो । कसैले दिएर हुनुभएको होइन । आन्दोलनबाट हुने कुरा आन्दोलनबाट नै परिवर्तन हुन्छ ।’
गुरुङले अब एकताबद्ध भएर अध्यक्षले प्रस्तुत गरेको प्रस्तावअनुसार अगाडि बढ्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्: