स्थायी समिति बैठकमा जनार्दनको प्रचण्डलाई भने आत्मालोचना गर्छु, २०६४ सालबाट पार्टी ओरालो लागेको जिम्मा तपाईं लिनुस्
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूले गरेको कमि कमजोरीको जिम्मालिने र आत्मालोचना गर्ने बताएका छन् ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकमा शर्माले पार्टीको विधि विधानका विरुद्ध बोलेको कुरा आफूले आत्मालोचना गर्ने बताएका हुन् । उनले भनेका छन्, ‘म जनता र पार्टीका लागि आत्मालोचना गर्न तयार रहेको तर पार्टी २०६४ सालदेखि ओरालो लागेको लाग्यै छ । त्यसको जिम्मा अध्यक्ष प्रचण्डले लिनुपर्छ ।’
शर्माले बैठकमा आफूलाई पार्टी विभाजन गर्न लागेको भनेर चलाएको हल्ला खारेज भएको बताएका छन् । उनले भने, ‘म पार्टी छोडेर जान्नँ, फुटको हल्ला खारेज गर्छु । यही पार्टीलाई बनाउन लागेको हुँ । तर, मलाई पार्टी विभाजन गर्न थाल्यो भनेर हल्ला चलाइयो ।’
शर्माले आफैँ सरकारमा रहेको बेला बजेटमार्फत किसान पेन्सनको कार्यक्रम ल्याइएको बताएका छन् । उनले भने, ‘सरकारमा हुँदा किसान पेन्सन कार्यक्रम ल्याएँ । तर, निरन्तरता दिइएन । त्यो मैले ल्याएको हुँदा निरन्तरता नदिएको हो कि ?’ शर्माले जनमत खस्केको, यसको कारण खोज्नुपर्ने र जसले जति जिम्मा लिनुपर्ने हो, लिऊँ भन्दै नेतृत्व बढी जिम्मेवार हुनुपर्ने बताएका छन् ।
यस्तै, स्थायी समिति सदस्य यशोदा सुवेदीले रुकुममा अध्यक्षले पार्टी छोडेर जानु भन्यो भनेर भन्नुभएको छ, त्यो भाषण अहिले पनि सुन्न शर्मालाई आग्रह गरेकी छन् । उनले बैठकमा शर्माको आलोचना गर्दै भनेकी छन्, ‘पार्टी छोडेर जान भनेको कुरा कहाँ छ ? अध्यक्ष आउनुभन्दा पहिला उत्तेजनात्मक रूपमा तपाईंले केके बोल्नुभएको थियो, फेरि पनि भिडियो सुन्नुहोला । यत्तिकै आरोप लगाउन पाइँदैन ।’
सचिव हितमान शाक्यले पार्टीको पछिल्लो विवादप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने समय हो । यो विग्रहको समय होइन । यो बेलामा गल्ती सुधार्ने हो, आत्मालोचना गरेर अघि बढ्ने हो, भाग्ने होइन । उत्तराधिकारी खोज्न हतारो गर्नु हुँदैन ।’
शाक्यले पार्टीको कमजोरी जनताको माझमा खुलेर स्वीकार गर्ने नेतृत्व प्रचण्ड भएको बताएका छन् । उनले भने, ‘अहिलेको बेला पार्टी कमजोर बनाउँदै बाहिरिने होइन । विकल्प खोज्ने कार्य अनुचित हो । उत्तराधिकारी खोजेर बनाइने कुरा होइन, यो समय सामूहिक नेतृत्व अभ्यास गर्ने समय हो । संस्थागत प्रक्रिया र प्रशिक्षणमार्फत नेतृत्व उत्पादन गर्नुपर्छ । ’
शाक्यले आफूले विगतमा पार्टीबाट छुट्टिएर गल्ती गरेको स्वीकार गर्दै भने, ‘मैले पार्टी फुटाउनु गल्ती हो भनेर फर्किएको हुँ । अहिले सबैले मिलेर पार्टी पुनर्गठनमा भूमिका खेल्नुपर्छ ।’ शाक्यले भूकम्प बेला हाम्रो सरकारले काम गरेन भनेर अहिलेकै सरकारको गुणगान गर्नु सहि नभएको भन्दै शर्माको आलोचना गरेका छन् ।
सचिव हितराज पाण्डेले संसदमा गएर विपक्षीले सरकारले नराम्रो गरेका कुराको विरोध गर्ने हो कि आफ्नै पालाको सरकारको भन्दै शर्मालाई प्रश्न सोधेका छन् । उनले भने, ‘सदनमा गएर सरकारले गरेका नराम्रा कुराका बारेमा एक शब्द नबोल्ने तर भूकम्प गएको समयमा सरकारले दिएको राहतको विरोध गर्ने, के हो रु प्रचण्ड नेतृत्वको सरकारले चलाएको सुशासनको अभियानका बारेमा कहीँकतै कुरा उठाउनु हुँदैन । सस्तो लोकप्रियता र फरक हुँ भनेर देखाउने गर्नुहुन्छ ।’
प्रतिक्रिया दिनुहोस्: