Bagmati Samachar Logo

माओवादी बैठक कसले के भने – जनार्दनसँग मोर्चा बनाएकोदेखि प्रचण्डको आलोचना गर्ने बेला कहिले आउछसम्म

काठमाडाैं । नेकपा माओवादी केन्द्रको शुक्रबारबाट सुरु भएको स्थायी समिति बैठकको दोस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको एजेन्डामाथि नेताहरुलेआफ्नो धारणा राख्न सुरु गरेका छन् ।

दोस्रो दिनको बैठकमा २४ जना नेताहरुले आआफ्ना धारणा राखेका छन् । धारणा राख्नेमा एक जनालाई छोडेर २३ जनाले उपमहासचिव जनार्दन शर्माको आलोचना गरेका छन् ।

स्थायी समिति सदस्य कुलप्रसाद केसीले प्रचण्ड माससँग जोडिएका नेता भएको बताएका छन् ।
उनले अहिलेको अवस्था लिडरको हात बलियो बनाउने पर्ने भएकाले सबै माओवादीले नेतृत्वको रक्षा गर्नु पर्ने धारणा राखेका छन् ।

स्थायी समिति सदस्य जोखबहादुर महराले विधि खोज्नेले विधिमा बस्न पनि जान्नु पर्ने बताएका छन् । उनले प्रचण्डको विकल्प नभएको धारणा राखेका छन् ।

स्थायी समितिका सदस्य विजयप्रकाश सैजुले पुष्पकमल दाहाल भएको भए आफ्नो पार्टीसँग एकता हुन सम्भव नभएको बताएका छन् । उनले भनेका छन्, ‘हाम्रो पार्टीसँग एकता हुनुमा पुष्पकमल दाहालको होइन प्रचण्डको मुख्य भूमिका छ । प्रचण्ड भएर एकता भएको हो । प्रचण्डलाई अन्य नेतासँग तुलना गर्न मिल्दैन । अरु नेता भन्दा प्रचण्ड फरक हुन् ।’
सचिव गंगानारायण श्रेष्ठले प्रचण्डमा भएको गतिशिल र सन्तुलन भएका नेता बताएका छन् ।

उनले भने, ‘आन्दोलन कमजोर नबनाउ । प्रचण्डमा केन्द्रीत हुनु पर्छ । नेतृत्व गतिशिल र सन्तुलित हुनु पर्छ । जुन कुरा प्रचण्डमा छ ।’

पार्टी उपमहासचिव मातृका प्रसाद यादवले आफ्नो र प्रभाकरबीच प्रचण्डलाई सच्याउन दबाब दिन मोर्चा बनेको बताएका छन् । उनले भनेका छन्, ‘मेरो र प्रभाकरबीच मोर्चा बनेको थियो । मोर्चा बनाएको अध्यक्ष प्रचण्डलाई सच्याउन, दबाब दिन हो । तर प्रभाकरले प्रचण्ड नै नमान्ने भनेपछि मोर्चा भत्क्यो । मैले मोर्चा छोडे ।’

यादवले प्रभाकरले मात्र होइन बाहिर बोल्ने अरुमाथि पनि प्रश्न उठउनु पर्ने बताए । उनले भने,‘वरिष्ठ उपाध्यक्ष नारायणकाजी पनि बाहिर बोल्दै हिड्नु भएको छन् । उनलाई कसैले केहि भन्दैनन । तर प्रभाकरलाई मात्र प्रश्न गरिन्छ । बाहिर बोल्ने काम बन्द गर्नु पर्छ । प्रभाकरपनि सच्चिनु पर्छ । माओवादीमा कसको गुट छैन । सबका गुट भत्काउनु पर्छ ।’
उपमहासचिव वर्षमान पुनले विचार, विधि, नेतृत्व र कार्यदिशाका बारेमा बाहिर बोल्नु ठिक नभएको बताएका छन् । उनले भने, ‘विचार, विधि, नेतृत्व र कार्यदिशा बाहेकका अभिव्यक्तिलाई स्वभाविक रुपमा लिनु पर्छ । राम्रो कुरा बोल्न पाउनु पर्छ । बोल्नु पर्छ । शंका छ भने समिक्षा गरौँ । दुशमनले हामी भित्र खेल्न खोजेको छ । प्रचण्डले हामीलाई बनाएको हो । यहि ब्राण्डीङ गराँै, लिडरशिपलाई रिब्राण्डिङ गराैँ ।’

सचिव देवेन्द्र पौडेले प्रचण्ड विचार निमार्ण, विचार राजनीति र पार्टी काममा बढी लाग्नु पर्ने धारणा राखेका छन् । उनले भने, ‘ प्रचण्ड सामान्य भेटघाट भन्दा पनि विचार निमार्ण,राजनीति र पार्टी काममा बढी लाग्नु पर्छ । गुटबन्दी र विभाजन बढी भयो । विगतमा जे भयो बेठिक भयो ।अब त्यो बाटोमा जानु दुर्भाग्य हुन्छ । सबै मिलेर जानु पर्छ ।’
उनले पार्टीमा उपमहासचिव प्रभाकारलाई पनि एक्लो पार्न नहुने र टाढा जान नदिन सुझाव दिएका छन् ।
सचिव राम कार्कीले अध्यक्षको आलोचना गर्ने बेला कहिले आउछ भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘ सधै अध्यक्षको आलोचना गर्ने समय नभएको भन्छौँ । आलोचना गर्ने र रुपान्तरण भयो भन्ने समय कहिले आउछ । सधै बेला भएन भन्दै आएका छौँ । उहाँ हुँदै उत्तराधिकारी बनाउनु पर्ने हो । नत्र पछि बनाउदा के हुन्छ कसैलाई थाह छैन ।’
कार्कीले अधिभूतवादी प्रसंसा आलोचना खतरानाक हुने भन्दै बैठकमा प्रचण्डको प्रशंसा गर्ने प्रति सचेत हुन सल्ला दिएका छन् ।

उनले यो १८ वर्षमा अर्थ प्रणाली फेर्न कति पहल गर्र्यौ भन्दै कुरा उठाएका छन् । उनले भने, ‘पार्टी हेर्दा समाज बिर्सने । समाज हेर्दा पार्टी बिर्सन थाल्यौँ । समाजवादको परिभाषा के हो ? पुष्पलालदेखि मोहनबिक्रमसम्म अन्तिम समयमा कमरेडहरु कोहि बाँकि रहेनन् । परिवार मात्र बाँकि रहे । यसको कारण खोज्नु पर्छ ।’

कार्कीले प्रभाकर पियोर प्रचण्ड स्कुलको उत्पादन भएको बताए । उनले भने, ‘प्रभाकरमा समस्या आएको हो भने स्कुलमा पनि समस्या आएको हो । संगठनात्मक सिद्धान्तको विकास गर्नु पर्ने बेला आएको छ । जसमा लेनिन र माओपनि चुके ।’
स्थायी समिति सदस्य खगराज भट्टले अन्न दाता र चन्दा दाताको भन्दा माओवादीको पार्टी हुनु पर्ने बताएका छन् । उनले भने,‘पार्टी पार्टी जस्तो बनाउ । माओवादीको पार्टी बनाउ । विधि पद्धति माग गर्नेले पनि त्यसमा बस्नु पर्छ । माग गर्नेले बढी विधि विधान पालना गर्नु पर्छ ।’

उपमहासचिव हरिबोल गजुरेलले भिजिट भिसा प्रकरणमा सरकारसँग पार्टीले दुई बुँदे सहमति गर्दा नराकात्मक सन्देश गएको बताएका छन् ।

उनले भने,‘यसबीमा माओवादी केन्द्रले सञ्चालन गरेको अभियानले पार्टीप्रति आकर्षण पैदा गरेको थियो । माओवादी सुशासनको पक्षमा छ है भन्ने सन्देश पनि गएको थियो । तर भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमति गर्नाले नकारात्मक असर परेकोबारे पनि कुरा उठ्यो ।’

स्थायी समिति सदस्य कालीबहादुर मल्लले बैठकमा यमराजको कथा सुनाएका थिए । उनले भने, ‘अहिले माओवादी आन्दोलन जसरी अगाडि बढेको छ । हुलाकी राजमार्गदेखि लिएर मध्यपहाडी क्षेत्रमा जस्तो अभियान चलेर एउटा प्रकारको माहोल बनेको छ । जनतामा आकर्षण बढेको छ । तर, र्भखरै देखिएको अन्तरविरोध, मिडियामा आएका कुरा र नेताहरुले बोलेको कुराले हामी फेरि जहाँ थियौँ त्यही पु¥याइदियो ।’

यस्तो छ यमराजको कथा:
यमराज एकचोटी धर्तीमा मान्छे लिन आए। मान्छेले तपाईंको को भनेर सोध्दा उसले यमराज हुँ भन्यो ।
अनि फेरि मानिसले सोध्यो–तपाईं किन आएको हो ? यमराजले जवाफ दियो– म तिमीलाई लिन आएको हो। तिम्रो २ मिनेट समय छ ।

अनि त्यो मानिसले यमराजलाई झुलाउने एउटा उपाय निकाल्यो। त्यो २ मिनेटको समयमा चिया पाकायो। त्यसमा निद्राको गोली हालिदियो। अनि यमराजलाई सत्कार गर्दै चिया खान दियो ।

त्यो चिया खाएर यमराज निदायो। त्यही बेलामा यमराजसँग भएको डायरी त्यो मानिसले पल्टायो ।
त्यहाँ उसले १ नम्बरमै आफ्नो नाम देख्यो । यमराज निदाएको फाइदा उठाएर पहिलो नम्बरमा रहेको आफ्नो नाम अन्तिममा राख्यो ।

अनि सोच्यो–मेरो काम त पुरा भयो। म अब मर्दिनँ ।

यमराज बिउझियो । खुसी भएर यमराजले चियाँ खुवाउने मान्छेलाई भन्यो– तिमीले मलाई चिया खुवायौ । आज म तिमीलाई लैजान्नँ । अन्तिममा जो छ, उसैलाई लिन्छु ।

तर, अन्तिममा त्यही मानिसको नाम थियो । म नाम सच्याउँछु र केही दिन भए पनि बाँच्छु भन्दाभन्दै पनि उ जोगिन सकेन ।

शनिबारको बैठकमा हरिबोल गजुरेल,वर्षमान पुन, देवेन्द्र पौडेल, गंगा श्रेष्ठ, ओनसरी घर्ती, राम कार्की, मातृका यादव, जयपुरी घर्ती, कमला रोक्का, खगराज भट्ट, प्रह्लाद बुढाथोकी, कुलप्रसाद केसी, महेश्वर गहतराज, अमृता थापा, अञ्जना विशंखे, शशी श्रेष्ठ, सत्य पहाडी, अमृता थापामगर, जोखबहादुर महरा, गणेशमान पुन लगायत २५ जनाले धारणा राखेका थिए ।