Bagmati Samachar Logo

झलनाथले एमाले विभाजन गरेर गलत गरिएछ भने पछि एसमा बबण्डर,राजिना दिएर जान नेपालको चुनौती

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले विभाजन गरेर गल्ती गरिएको बताएका छन् । पत्रकार जगदीश खरेलसँग कुरा गर्दै खनालले एमालेमा विद्रोह गरेर नयाँ दल बनाउँदा त्यसको औचित्य पुष्टि गर्न नसकिएको बताएका हुन् ।

उनले एमालेमा पार्टी बनाउँदा रगत, पसिना बगाएको हुँदा अहिले पनि माया रहेको बताएका छन् । उनले भने, ‘नेकपा एमालेप्रति अनुराग छ, माया छ । त्यो पार्टी बनाइयो । लडाइँ गरियो । जेल नेल खाइयो । अनि माया हुँदैन ’’

‘ओली होइनन्, म व्यक्तिको पक्षमा जान्न । तर, नेकपा एमाले भनेको एउटा संस्था हो, जो कम्युनिस्ट आन्दोलनको एउटा राम्रो संस्था बनाइएको थियो । त्यो संस्थालाई त्यति बेला छाडेर विद्रोह गर्ने कुरा चाहिँ गलत थियो,’ खनालले थपे ।

उनले एसका अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई एकलौटी ढंगले चलाएको समेत आरोप लगाएका छन् । ‘दलका महत्त्वपूर्ण निर्णयमा मलाई संलग्न गराउन छोडिएको छ । यो पार्टी व्यक्तिको बपौति होइन,’ खनालले भने। उनले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाउने बेला नेपालसँग आधारभूत कुरा मिले पनि अहिले मुलतः सिद्धान्तको कुरामा विमति रहेको बताएका छन् ।

आफूले वैज्ञानिक समाजवादको कुरा गरे पनि नेपालले जनताको बहुदलीय जनवाद नछोडेकाले समस्या उत्पन्न भएको उनले बताए । तर, हाल नेपालको कार्यशैली एकलौटी गर्ने खालको भएको हुँदा पार्टीका महत्त्वपूर्ण बैठक र निर्णयमा आफूलाई सहभागी नगराइएको गुनासो गरेका छन् ।

यता एसका अध्यक्ष माधवकुमार नेपालले सम्मानीत नेता झलनाथ खनाललाई ‘खुरुक्क राजीनामा दिएर पार्टीबाट बिदा लिन’ सुझाव दिएका छन् । खनालले एमाले विभाजन गरेर गल्ती भएको भन्दै पश्चाताप गरेपछि अध्यक्ष नेपालले राजीनामा दिएर बिदा हुन सुझाव दिएका हुन् ।

ुउहाँले बोलेको हो कि होइन । यदि उहाँले त्यो बोल्नुभएको हो भने अब पार्टीबाट बिदा गरिदिनुपर्छ । यो पार्टीमा बस्ने ठाउँ नै रहेन नि । नैतिक अधिकार नै छैन । उहाँले खुरुक्क राजीनामा दिनुपर्छ । बिदा भएर जानुपर्छु, शुक्रबार विराटनगरमा पत्रकारसित नेपालले भने ।

उनले खनाललाई पार्टीको निर्णय नमान्ने नेता पनि भने । ‘पार्टीको निर्णय नमान्ने नेताहरूको सूचीमा उहाँ नम्बर एकमा पर्नुहुन्छ,’ नेपालले भने, ‘उहाँलाई पार्टीमा बस्ने नै अधिकार छैन । पार्टीको अनुशासन मानेर अघि बढ्न नसक्नेहरूले आफैँ बाटो खुला गर्नु राम्रो हो ।’