Bagmati Samachar Logo

स्टालिनलेझैं ओली–प्रचण्डले आलोचकको राजनीतिक सफाया गर्दैछन् : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति ) का अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्टालिनसँग तुलना गरेका छन्।

‘हामी इतिहासबाट यो सिक्छौं कि हामी इतिहासबाट सिक्देनौं’ भन्ने अंग्रेजीमा चर्चित भनाइ उद्दरण गर्दै उनले नेपालका कम्युनिस्ट स्टालिनकालीन रूसी कम्युनिस्ट आन्दोलनकै दिशामा अघि बढेको आरोप लगाएका हुन।

‘मूलतः २०२८–३१ को झापा आन्दोलन र २०५२–०६२ को जनयुद्धको जगमा उभिएको नेपाली कम्युनिष्ट आन्दोलन संसारको पहिलो र करिब ७५ बर्षसम्म सत्तामा रहेर अहिले विलोप भएर गएको रूसको कम्युनिष्ट पार्टी र आन्दोलनकै दिशामा अग्रसर भैरहेको देखिनु बिडम्वनापूर्ण छ,’ उनले भनेका छन्।

नेपालको कम्युनिस्ट आन्दोलनको तीव्र वैचारिक स्खलन–बन्ध्याकरण र राज्यसत्ता संचालनको प्रवृत्ति, अवस्था हेर्दा ब्रेजनेभ–कालको झल्को आउने भट्टराईले बताएका छन्।

रूसी कम्युनिस्ट नेता ब्रेजनेभ–कालको जस्तो अहिलेको कम्युनिस्ट पार्टीहरूको अवस्था सुन्निएर मोटाएको जस्तो देखिएको उनको टिप्पणी छ।

‘पटक–पटक सत्तामा बस्दा पनि कुनै गुणात्मक र उल्लेख्य रूपान्तरणकारी उपलब्धी छैन तर गफ चाहिँ रूसका भूपू कमरेडहरूले मिति नै तोकेर बीस बर्षभित्र साम्यवाद आउँछ भने झै यहाँ पनि समाजवाद(साम्यवाद को डिङ हान्न र कार्यकर्ता अल्मल्याउन भ्याएकै छन्,’ उनको कटाक्ष छ।

एमाले र माओवादीभित्र भित्री पार्टी सम्बन्ध, अथवा सनातनी कम्युनिष्ट पदावली अनुसार अन्तर–पार्टी संघर्ष स्टालिन कालको कालखण्डको जस्तो भएको चित्रण गरेका छन्।

‘यहाँ पनि स्टालिनको मुख्यतः सन् १९२७–३८ कालखण्डको झल्को दिने गरी मूल नेतृत्वसँग आँखा जुधाउने वा उसको आलोचना गर्ने नेता–कार्यकर्तालाई विभिन्न आरोप लगाएर पार्टी र सत्ताबाट सदाकोनिम्ति बिदा गर्ने प्रवृत्ति उत्तिकै हाबी छ,’ उनले भनेका छन्, ‘यस सन्दर्भमा अझै विडम्वनापूर्ण र हास्यास्पद प्रवृत्ति र घटना त के भने जसरी रूसमा स्टालिनले लेनिनको पालादेखिका सबै प्रमुख समकक्षी र आफ्ना प्रतिष्पर्धी नेताहरूलाई पालैपालो भौतिक रूपले नै सफाया गरेका थिए।’

उनले स्टालिनले कसलाई कस्तो व्यवहार गरे भनेर पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यस सन्दर्भमा अझै विडम्वनापूर्ण र हास्यास्पद प्रवृत्ति र घटना त के भने जसरी रूसमा स्टालिनले लेनिनको पालादेखिका सबै प्रमुख समकक्षी र आफ्ना प्रतिष्पर्धी नेताहरूलाई पालैपालो भौतिक रूपले नै सफाया गरेका थिए ९जस्तै( त्रोत्स्कीलाई सबभन्दा पहिले सन् १९२७ मा पार्टीबाट निष्काशन, १९२९ मा देशनिकाला र पछि विदेशमै हत्यास जेनोभिभ र कामेनेभलाई बिरालाले मुसा खेलाए झैं पटकपटक पार्टीबाट निष्काशन र अन्त्यमा१९३६ मा हत्या बुखारिन, रिकोभ लगायतलाई त्यसरी नै अन्त्यमा १९३८ मा हत्या , आदि इत्यादि।’

अहिले त्यसकै झल्को आउने गरी अहिले नेपालका कम्युनिस्ट पार्टी, विशेष गरेर अध्यक्ष ओली र प्रचण्डले आफ्ना आलोचक र विरोधी नेताहरूलाई पालैपालो स्टालिनकै शैलीमा भौतिक सफाया नगरे पनि राजनीतिक र सांगठनिक सफाया गर्ने बाटो समातेको उनको दाबी छ।

‘अझै पुरानै एकमनावादी, नोकरशाही केन्द्रीयतावादी कम्युनिष्ट पार्टीमा भावनात्मक ढंगले टाँसिएर बसिरहेका र पार्टी सुप्रिमोले पहिले एउटा कमरेडलाई ठोक्दा ताली पिट्ने अनि पछि आफ्नै पालो आउँदा एक्लै आँसु झार्नेसाथीहरूले इतिहासबाट पाठ सिकेर समाजवाद निर्माण र मानव जातिको समग्र उन्नयनको नयाँ वैकल्पिक बाटो खोजी र निर्माण गर्ने साहस गर्ने किरु,’ उनले भनेका छन्।