Bagmati Samachar Logo

नागरिक उन्मुक्ति पार्टीमा बुहारी रञ्जितालाई अध्यक्षबाट हटाएर ससुरा लालवीर बने नयाँ अध्यक्ष

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएर नयाँ अध्यक्षमा लालवीर चौधरी चयन भएका छन् । नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेलाले बिहीबार चौधरीलाई नयाँ अध्यक्षमा चयन गरेको हो ।

१४ साउनबाट सुरु भएको राष्ट्रिय भेलाले पार्टी अध्यक्ष श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी कारबाहि गर्नुका साथै अध्यक्षबाट हटाएको छ ।

सो ठाउँमा आज नयाँ अध्यक्ष चयन गरिएको चौधरीको निजी सचिवालयले जनाएको छ ।

भेलाले बुहारी रञ्जितालाई हटाएर ससुरा लालवीरलाई अध्यक्ष बनाएको छ । पार्टीको साधारण सदस्य पनि हुन नपाउने रञ्जिताका श्रीमान तथा लालवीरका छोार रेशम चौधरीले पार्टीभित्र को विवादलाई समाधान गर्नुको सट्टा बढाउन सहयोगीको भूमिका खेलेको आरोप रञ्जिताका पक्षले लगाएको छ ।

लालवीर चौधरीलाई नयाँ अध्यक्ष चयन गरिएको घोषणा बिहीबार गरियो । अध्यक्षको जिम्मेवारी सम्हालेसँगै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै चौधरीले नागरिक उन्मुक्ति पार्टीको आन्तरिक समस्या समाधान गर्न विधि र पद्धति अनुरूप आफूले काम गर्ने बताए । ‘हामी लगातार आठ दिनदेखि मन्थनमा थियौँ र आज अन्ततः सकारात्मक निकास निकाल्न सफल भएका छौँ’, उनले भने ।

यो सफलताका लागि उनले पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू, संघ र प्रदेशका सांसदहरू, स्थानीय तहका प्रमुख, उपप्रमुख र वडा अध्यक्षसहित सबैलाई धन्यवाद दिए ।

उनले रञ्जिता श्रेष्ठलाई नेतृत्वबाट हटाइएको नभई केवल पार्टीलाई निकास दिने उद्देश्यले यो कदम चालिएको बताए ।उनले भने, ‘उहाँलाई हटाइएको होइन—उहाँलाई दण्डित गरिएको पनि होइन। केवल पार्टीलाई निकास दिने उद्देश्यले यो कदम चालिएको हो । हामी अझै पनि उहाँप्रति सम्मानजनक व्यवहार गर्न तयार छौँ र उहाँलाई पार्टीमा सहभागी हुन पनि आग्रह गरेका छौँ। तर, उहाँ आफैँ आउन चाहनु भएन।’

रञ्जिताले भने यो भेलालाई अवैधानिक भएको प्रतिक्रिया दिएकी छन् । केहि दिन पहिला रञ्जिताले स्वास्थ्यको कारण देखाएर कार्यवाहक अध्यक्ष शिव बास्तोलालाई दिएकी थिइन् ।
अध्यक्ष श्रेष्ठले वरिष्ठ नेता बास्तोलालाई कार्यवाहक अध्यक्ष तोके पछि झन विवाद बढेको छ ।