Bagmati Samachar Logo

एमाले विधान महाधिवेशन व्यवस्थापन गर्न जिम्मेवारी बाँडफाँट

काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशन व्यवस्थापन गर्नका लागि जिम्मेवारी बाँडफाँट गरेको छ। विधान महाधिवेशन आउदो भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुदैछ ।

महासचिव शंकर पोखरेलको अध्यक्षतामा बुधबार बसेको सचिवालय बैठकले महाधिवेशनको व्यवस्थापनका लागि जिम्मेवारी तोकेको हो।

एमाले केन्द्रीय कार्यालयका प्रमुख भीष्म अधिकारीका अनुसार बैठकले महाधिवेशनका प्रतिनिधिको संख्या एकिन गर्ने जिम्मेवारी संगठन विभागलाई दिएको छ।

यस्तै स्वास्थ्य क्षेत्रको जिम्मा स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ । स्वयंसेवक परिचालनको जिम्मेवारी पार्टीको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाललाई दिइएको छ ।

यसैगरी सचिवालय र खाना व्यवस्थापन गर्ने जिम्मेवारी केन्द्रीय कार्यालय प्रमुख अधिकारीलाई दिइएको छ भने यातायात तथा मञ्च व्यवस्थापनको जिम्मा केन्द्रीय सदस्य विनोद श्रेष्ठले पाएका छन्।

महाधिवेशनको प्रचार गर्ने जिम्मा एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम तथा स्वागत नृत्यसहित विविध सांस्कृतिक कार्यक्रमको जिम्मेवारी केन्द्रीय सदस्य हेमराज राईले पाएका छन्।

एमालेका अनुसार आवासको व्यवस्थापन गर्न नसक्ने प्रतिनिधिका सम्बन्धित जिल्ला वा प्रदेशका सम्पर्क समन्वय कमिटीले व्यवस्थापन गर्नुपर्ने छ। यसका लागि सो विभागका इन्चार्ज लालबाबु पण्डितलाई जिम्मेवारी दिइएको छ।

महाधिवेशनमा २ हजार २७९ प्रतिनिधि सहभागी हुने अनुमान छ।