Bagmati Samachar Logo

केही साथीहरू ३६ वर्ष नेतृत्वमा बसेर के गरिस भन्दै सिँगौरी खेल्न खोज्दै हुनुहुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीका केही साथीहरूले सिँगौरी खेल्न थालेको बताएका छन् । उनले बुधबार काठमाडौंमा आयोजित पुष्पलालको ४७औँ स्मृतिसभालाई सम्बोधन गर्ने क्रममा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माप्रति लक्षित गर्दै उक्त कुरा बताएका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शर्माले माओवादी नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव गर्दै मनमोहन अधिकारीबाहेक सबै कम्युनिस्ट प्रधानमन्त्री भ्रष्टाचारी भएको आरोप लगाएका थिए ।

शर्माको मंगलबारको अभिव्यक्तिको जवाफ दिदै प्रचण्डले भने, ‘केही साथीहरू सिँगौरी खेल्न खोज्दै हुनुहुन्छ । खेल्नुहोस् भनेको छु । मिल्नेमिल्नेबीच अब एउटै पार्टी बनाउनुपर्छ ।’

उनले अहिले पनि कम्युनिस्ट–कम्युनिस्टबीच एकताको झण्डा उठाएको बताए । उनले भने, ‘एकताको झण्डा उठाउँदै आएका छौँ । मैले भिन्न मतलाई दमन गर्दै गरिनँ, अलि बढी उदार छु । कसैलाई कारबाही पनि गरिनँ । छलफलको वातावरण दिन्छु ।’

प्रचण्डले पुष्पलालले कम्युनिस्ट आन्दोलनको मुख्य समस्या के हो भन्ने विषयमा संयुक्त मोर्चा बनाउन जोड दिएको बताए । पुष्पलालले बृहत् मोर्चा बनाउनुपर्छ भनेकाले हामीले पनि मोर्चा बनाएर जानुपर्ने उनको भनाइ थियो ।

प्रचण्डले नोकरशाही, बिचौलिया नेपाली क्रान्तिको तारो भएको बताए । उनले भने, ‘नोकरशाहीप्रति नरम हुँदा बुझौँ, दालमे कुछ काला है । तर, हामी लड्ने हो । कम्युनिस्टले पुँजीवादका विरुद्ध मोर्चा बनाउनुपर्छ ।’

पुष्पलाल नै सबैले स्वीकार गर्ने, गर्व गर्ने व्यक्ति भएको प्रचण्डले बताए । उनले भने, ‘पार्टी एकता गरौँ, मोर्चा बनाऊँ, मैले १ रुपैयाँ तिरेर पुष्पलाल समूहबाट सदस्यता लिएको हुँ । पुष्पलाललाई गलत भनेको कुरा गलत छ भन्ने मै हो ।’

प्रचण्डले झापा विद्रोहको सम्मान हुनुपर्ने र दलालको पछि लाग्ने कम्युनिस्ट होइन, त्योसँग लड्ने कम्युनिस्ट हुनुपर्ने बताए । उनले भने, ‘जनसत्ताबाट तागत आयो, अनि संविधानसभा भएको हो ।’

पुष्पलालको नीति नै माओवादीले लागू गरेको प्रचण्डले दाबी गरे । उनले भने, ‘आलोचना सुन्दै आएको छु । ३६ वर्ष भयो नेतृवमा आएको । अझै बसेको छु नेतृत्वमा । छोडौँ कि भन्ने मन पनि लाग्छ तर सोच्छु– बरबाद पो हुने हो कि १’

३६ वर्ष नेतृत्वमा बसेर प्रचण्डले के गर्‍यो भन्नेका लागि प्रचण्डले जोाफ दिए, ‘जनयुद्ध गर्‍यौँ, शान्ति सम्झौतामा आयौँ, भ्रष्टाचारविरुद्ध अभियान चलायौँ । पार्टी एकता गर्‍यौँ । जनयुद्धको नेतृत्व गर्‍यौँ । संविधानसभाको नेतृत्व गर्‍यौँ ।