Bagmati Samachar Logo

विद्या भण्डारी एमालेमा फर्किने च्याप्टर क्लोज– पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा फर्किने च्याप्टर क्लोज भएको बताएका छन् । भण्डारीलाई पार्टीले सक्रिय राजनीतिमा आउने ढोका बन्द गरेको दोस्रो दिन मुख खोलेका छन् । जब कि पौडेल भण्डारी निकट मानिन्थे । तर पदाधिकारी बैठकदेखि उनी कसैको पक्षमा पनि बोलेका थिएनन् । तर पछिल्लो दिनमा उनले भण्डारीलाई छोडेर केपी ओलीलाई साथ दिएका थिए ।

पौडेलले भण्डारीको पार्टी सदस्यता नवीकरण गर्न नमिल्ने बताएका छन् ।

४७ औं पुष्पलाल स्मृति दिवसको अवसरमा बुधबार बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले भण्डारी राजनीतिमा सक्रिय हुन उचित नहुने पार्टीको निष्कर्ष रहेको बताए ।​ भण्डारीले राष्ट्रपति बन्नुपूर्व नै पार्टी सदस्यता त्याग गरेकोले अब नवीकरण गर्न नमिल्ने उनको भनाइ छ ।

गणतान्त्रिक नेपालको राष्ट्र प्रमुख भएको व्यक्ति पुनः राजनीतिमा सक्रिय हुनु उचित नहुने भन्दै उनले पूर्वराष्ट्रपतिकै हैसियतमा बस्न सुझाव दिए । पौडेलले विद्या भण्डारीको विषय अब पार्टीमा च्याप्टर क्लोज भएको स्पष्ट पारे ।

नेतृत्व उमेरले मात्रै नभएर विचार, दृष्टिकोण र क्रियाशीलताको आधारमा हुने भन्दै उपाध्यक्ष पौडेलले राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा पार्टीले ७० वर्षे उमेरहद हटाउने निर्णय गरेको बताए ।

मुलुकको सर्वोच्च संस्था राष्ट्रपति जस्ता पदमा आसीन भैसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु उपयुक्त नहुने भनेर एमालेको केन्द्रीय कमिटीले एकमतले निर्णय गरेसँगै विभाजन चाहनेहरूको सपना तुहिएको बताए ।

उनले भने, ‘एमाले पार्टी विभाजनमा भूमिका खेलेकाहरूले अहिले फेरि पनि विभाजन गर्न सकिन्छ कि भनेर कोसिस गरिरहेका थिए, तर पार्टीले एकमतले निर्णय गरेपछि उनीहरूको सपनामाथि तुषारापात भएको छ । पार्टीभित्र अस्थिरता मच्चाउने र विभाजनको कोसिस गर्ने तत्त्वहरू सपना विफल भएको छ ।