Bagmati Samachar Logo

एमालेले विद्या भण्डारीको सक्रिय राजनीति गर्ने चाहानामा लगायो ‘ब्रेक’

काठमाडौँ । नेकपा एमालेले पूर्व राष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीति गर्ने घोषणामाथि ब्रेक लगाएको छ । एमालेले भण्डारीले असार १४ गते गरेको घोषणामाथि नै ब्रेक लगाएको छ । साथै भण्डारीले दुई वर्ष पहिला गरेको सदस्यता नविकरणलाई पनि खारेज गर्ने निर्णय गरेको छ । एमालेको पछिल्लो निर्णयले भण्डारी राजनीतिमा आउने बाटो बन्द गरेको छ ।

एमालेको नवौँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । तर बैठकमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति जनाएका थिए ।

बैठकको निष्कर्ष सुनाउँदै प्रचार विभाग गौतमले भने, ‘पूर्व राष्ट्रपति देशको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको सिम्वोल, देशको अभिभावक हो ।संविधानको संरक्षक, देशकै अभिभावक जस्तो व्यक्ति राजनीतिक दलको नेता कार्यकर्ता हुने कुरा स्थापित मूल्यमान्यता अनुसार राम्रो हुँदैन । यो संविधान, मर्म र भावना विपरीत हुन्छ भन्ने निष्कर्ष निकालेको छ ।’

एमालेले पूर्व राष्ट्रपति राजनीतिमा आउँदा गलत नजिर बस्ने भन्दै सम्मानित भएरै बस्नुपर्ने बताएको छ । त्यस्तो व्यक्ति राजनीतिमा आउँदा संविधानको मर्म र भावनामै प्रभाव पर्ने एमालेको ठहर छ । एमालेले व्यक्तिको कुरा मात्र नभएर सिस्टम र संविधानको समेत सवाल भएकाले यस्तो निर्णय गर्नुपरेको जनाएको छ । २ दिन बसेको बैठकमा अढाई सय भन्दा बढी केन्द्रीय सदस्य सहभागी भएका थिए ।