Bagmati Samachar Logo

७ लाख भन्दा बढी घुससहित वरिष्ठ वन अधिकृत रंगेहात पक्राउ

काठमाडौं । कैलालीस्थित डिभिजन वन कार्यालय, धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई सात लाख रुपैयाँभन्दा बढी घुस सहित रंगेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई सोमबार पक्राउ गरेको हो ।

आयोगका अनुसार यादवले कैलाली जिल्लाको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनबाट घाटगड्डी गरिएको काठसम्बन्धी बिमर्का (बिवरणपत्र ) र छोडपूर्जी दिने प्रक्रियामा सेवाग्राहीसँग घुस माग गरेका थिए । त्यसै उजुरीका आधारमा अख्तियारको कञ्चनपुरस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई ७ लाख ३१ हजार घुससहित नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको छ, आयोगका सहसचिव एवम् प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । उनका अनुसार यादवलाई अख्तियारको टोलीले सोमबार डिभिजन वन कार्यालय धनगढीबाट नियन्त्रणमा लिएको हो ।

घटनासँग जोडिएका थप व्यक्तिहरूको संलग्नताबारे अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।