एमालेको बैठकमा आज पहिलो दिन ४९ जना केन्द्रीय सदस्य बोले,उमेरहद हटाइएको बारेमा प्रश्न
काठमाडौँ । नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटीको बैठक आजबाट सुरु भएको छ । आजको बैठकमा ४९ जनाले आफ्नो धारणा राखेका छन् । आजको बैठक सम्पन्न हुँदा ४९ जना केन्द्रीय सदस्यहरुले राजनीतिक र विधान प्रतिवेदनमाथि आफ्ना धारण राखेका छन् ।

ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा बसेको थियो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको हो । बैठकमा ४९ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आआफ्ना धारणा राख्नुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आआफ्ना धारणा राखेका थिए ।
प्रचार विभाग प्रमुख गौतमका अनुसार आज गण्डकी प्रदेश, मधेस प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय कमिटीका ४९ केन्द्रीय सदस्यले प्रतिवेदनमाथि धारणा राखेका छन् ।
अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी सचिवालय र पोलिटब्युरोबाट सर्वसम्मत निर्णय भएर आएको विधान संशोधन प्रस्तावलाई समर्थन गरेका छन् । बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्य नवीकरण गरेको विषयले पनि प्रवेश पाएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए। बैठकमा आफ्नो धारणा राख्न केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको थियो ।
मधेसबाट एमाले केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य अरबिन्द सिंहले भने उमेर हदलाई आफू अनुकूल राख्ने र हटाउने विषयप्रति प्रश्न उठाएका छन्।
‘उमेर हद आफू अनुकूल राख्ने र हटाउने क्रम अन्त्य हुनुपर्छ,’ सिंहले बैठकमा बोल्दै सोधेका छन्, ‘३ किसिमको विधान छापिएको भन्ने कुराको पार्टी नेताहरूबाटै सामाजिक सञ्जालमा छरपस्ट पार्ने काम हुँदैछ। सत्यतथ्य के हो ?’
७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाउँदा पदाधिकारीको प्रतिस्पर्धा झन् बढ्ने भन्दै सिंहले पदाधिकारीको संख्या १९ बाट २१ बनाउनुपर्ने बताएका छन्।
‘आखिर नेतृत्व चयन गर्ने महाधिवेशनसम्म पुग्दा संख्या बढी हाल्ने विगत छ हाम्रो,’ उनले भने।
वरिष्ठ उपाध्यक्षको पद हटाइएकोबारे पनि सिंहले प्रश्न गरेका छन्।
बैठक भोली बिहान ११ बजे बस्ने छ ।
प्रतिक्रिया दिनुहोस्: