३२ लाखको घुसकाण्डको ढीलमा भएको अडियोमा सुनिने आवाज मेरो होइन : मन्त्री अधिकारी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घुस काण्डमा आफ्नो नाम जोडेको भन्दै आपत्ति जनाएका छन् । घुसकााण्डसँग जोडेर सार्वजनिक भएका अडियोहरूबारे बोल्दै त्यसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।
बिहीबार पत्रकार सम्मेलन गर्दै उनले नियोजित रूपमा आफ्नाविरुद्ध अडियो तयार पारिएको दाबी गरे । अडियोसँग संलग्न व्यक्तिहरू आफूसँगका सरोकारवाला नरहेको उनले बताए ।
उनले भने, ‘जग्गा र सरुवाको कुरा आएको छ । सरुवा नियमित प्रक्रिया हो । पोखराको मालपोत अधिकृतको कुरा छ, नियमित कुरा हो । मन्त्रीमात्र नभएर मेरो छोरालाई पनि जोडिएको छ । मालपोत अधिकृत पुसमा सारिएको छ । अडियो अहिले ल्याइएको छ, कुन नियतले ल्याइएको छ ?’
अहिले मेरो नाम परिवारसँग जोडेर चरित्र हत्या गर्ने काम भएको बताए । उनले भने, ‘नाजायज अभिष्ट पूरा गर्ने उद्देश्य देखिन्छ । मेरो आवाज हो भने जस्तो सुकै कामकारबाही भोग्न तयार छु ।’
मन्त्री अधिकारीले ३२ लाख रुपैयाँ घुस लिएको दाबीसहितको अडियो सार्वजनिक भएको छ ।
उनले अडियोसँग सम्बन्धित मान्छे आफूसँग नजोडिएको भन्दै कहीँ कतै संलग्नता पाइए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्: