संसद विघटनको कुराले मलाई पछ्याइरहन्छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुईपटक संसद् विघटनको निर्णय सदरको विषयले आफूलाई पछ्याइरहेको बताएकी छन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गरेका थिए । उक्त विघटनलाई तत्कालीन राष्ट्रपति भण्डारीले सदर गरेकी थिइन् । तर दुबै पटक सर्वोच्च अदालतले संसद विघटन खारेज गरेको थियो । उक्त प्रसंगलाई पत्रकाले सोधेपछि उनले भनिन्, ‘विगतको कुरा हो तर यसले मलाई पछ्याइरहन्छ। यसमा म जानकार नै छु। मैले कुनै प्रेसर, दबाबभन्दा पनि मन्त्रिपरिषद्ले गरेको निर्णयलाई कार्यान्वयन मात्रै गरेको हुँ ।’
त्यतिबेला जे गर्नुपर्थ्यो त्यही गरेको र उक्त काम संवैधानिक व्यवस्थाअनुसार गरेको पनि बताइन्। उनले भनिन्, ‘यसमा मैले कुनै प्रेसर दबाबभन्दा पनि मन्त्रिपरिषद्ले गरेको निर्णयलाई कार्यान्वयन गरेको मात्रै हो । देशलाई निकास दिनुपर्ने कुरा हो। कुन बेला के गर्नुपर्थ्यो भन्ने बहसको कुरा हुन सक्थ्यो। तर यो दबाबले होइन। संवैधानिक व्यवस्थाअनुसार गरेको हुँ।’
नेकपा एमालेका तत्कालीन महासचिव तथा पूर्वराष्ट्रपतिका स्वर्गीय मदन भण्डारीको ७५ औं जन्म जयन्ती मनाउने विषयमा जानकारी दिन मदन भण्डारी फाउन्डेसनले गरेको आयोजित पत्रकार सम्मेलनमा उनले यसबारे बोलेकी हुन्।
प्रतिक्रिया दिनुहोस्: