Bagmati Samachar Logo

कञ्चनपुरमा छाउ गोठमा सुतेकी कमलाको सर्पले टोकेर मृत्यु

काठमाडौं । कञ्चनपुरमा छाउगोठमा सुतेकी एक महिलाको सर्पको टोकाइबाट मृत्यु भएको छ ।

छाउगोठमा सुतिरहेका बेला सर्पले टोकेपछि कृष्णपुर नगरपालिका–१, निगालीकी २८ वर्षीया कमला आउजीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महिनावारी भएर कमला आफ्नो पक्की घर छोडेर जीर्ण छाउगोठमा सुतेकी थिइन् । ‘शनिबार बिहान साढे १२ बजे कमलालाई सर्पले टोकेपछि उपचारका लागि सेती प्रादेशक अस्पताल धनगढी पुर्‍याइएको थियो,’ कञ्चनपुर प्रहरी प्रवक्ता डीएसपी सागर बोहराले भने, ‘उपचारकै क्रममा शनिबार बेलुका ७ बजे मृत्यु भएको छ ।’

सुदूरपश्चिममा व्याप्त अन्धविश्वासका कारण महिनावारीका बेला महिलाहरू अझै छाउगोठमा बस्न बाध्य छन् । अहिले पनि महिनावारी हुँदा घरमा सुते देउता रिसाउन्छन् भनेर महिलाहरुलाई छाउ गोठमा राख्ने चलन छ ।