Bagmati Samachar Logo

जबज जनउत्तरदायी शासन पद्धतिको मार्गदर्शन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) राजनीतिको वैचारिक मार्गदर्शन सिद्धान्त मात्रै नभएर जनउत्तरदायी शासन पद्धतिको रूपमा विकास गर्नुपर्ने बताएकी छन् ।

शनिबार मदन भण्डारी फाउण्डेशनले प्रकाशन गरेको ‘राज्य समाज र विकास’ नामक जर्नल सार्वजनिक गर्दै भण्डारीले जबजको व्यावहारिक प्रयोगलाई जोड दिनुपर्ने धारणा राखेकी हुन् ।

शासन व्यवस्था हिंसा र अधिनायकत्वबाट नभई जनताको सहभागीमा आधारित हुनुपर्ने भन्दै राजनीतिक मानव कल्याण र सामाजिक हित अनुकूल हुनुपर्ने कुरा जबजको मूल भावना रहेको उनको भनाइ थियो ।

भण्डारीले फाउण्डेशनले निकालेको जर्नलको तेस्रो भेल्यूममा समावेश भएका अनुसन्धानमूलक लेखले जबजको विकासशील दृष्टिकोण प्रस्तुत गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘जबज सामाजिक, आर्थिक रूपान्तरणको एउटा बृहत्तर सिद्धान्त हो । यो जर्नल भर्खरै प्रकाशन हुन थालेकाले यसमा जबजका विभिन्न आयाम र क्षेत्रहरू समेटिन नसक्नुलाई अन्यथा रूपमा लिनु हुँदैन ।’

पूर्वराष्ट्रपति भण्डारीले जबजले मार्क्सवाद, लेनिनवादको आधारमा नेपाली समाजवादको गहिरो विश्लेषण गर्दै सामाजिक, ऐतिहासिक, सांस्कृतिक तथा भूराजनीतिक विशेषतालाई आत्मसाथ गर्दै समाजवादको मार्गमा लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिस्पर्धालाई समावेश गर्दै विशिष्ट र सिर्जनात्मक बाटो निर्माण गरेको बताइन् ।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जर्नलमा प्रकाशित लेखहरू अनुसन्धानमूलक खँदिलो रहेको भन्दै यसले प्राज्ञिक उन्नयनमा टेवा पुग्ने धारणा राखे ।

फाउण्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीले जबज विकासको मूल आधार भएको हुँदा यसलाई विकासको मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिइन् । उनले फाउण्डेशनले आगामी दिनमा यस्ता प्राज्ञिक अनुसन्धानमूलक कार्यलाई निरन्तरता दिने समेत बताइन् ।

फाउण्डेशनले निकालेको जर्नलको तेस्रो भोल्यूममा दश वटा लेखहरू समावेश छन् ।