Bagmati Samachar Logo

खेलकुदमन्त्रीले खेलकुदमा राजनीति गरेको भन्दै एनपीएल नरोकिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई राजनीतिसँग जोड्न नहुने बताएका छन्। बिहीबार ‘नेसनल हाइ पर्फमेन्स सेन्टर एन्ड स्पोर्टस् साइन्स ल्याब’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलकुदमन्त्री तेजुलाल चौधरीलाई लक्षित गर्दै यस्तो बताएका हुन्।

ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)का विषयमा राजनीति भइरहेको भन्दै ओलीले खेल नरोकिने बताए।
उनले भने, ‘सरकारमा राजनीतिक दल नै आउने हो। सरकारमा आएपछि जुन क्षेत्रको काम छ, त्यसको विकास गर्ने हो। कृषि हो भने कृषिको विकास हुनुपर्‍यो, उद्योग हो भने उद्योगको विकास हुनुपर्‍यो। त्यहाँ राजनीतिक गर्नुभएन । खेलमा हो भने खेलको विकास गर्नुपर्छ। खेललाई अगाडि लैजानुपर्छ। त्यहाँ पोलिटिक्स पर्ने होइन। पोलिटिक्सका लागि देयर इज नो स्पेस। जो आउँछ, उसले पोलिटिक्स गर्ने होइन खेलमा ध्यान दिनुपर्‍यो।’

एनपीएलका सन्दर्भमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान)बीच विवाद छ। एनपीएलको हिसाबकिताबका सबालमा दुई निकायबीच भइरहेको विवादबीच प्रधानमन्त्री ओलीले मन्त्री चौधरीलाई खेलकुदको विकासमा लाग्न निर्देशन दिए।

एनपीएलको कामहरू रोक्न दिएको निर्देशनमा आपत्ति जनाउँदै ओलीले क्यानलाई एनपीएलको तयारी तीव्र बनाउन आग्रह गरे।
उनले भने, ‘एनपीएलको भब्य तयारी गर्नुस्। यो हाम्रो नेशनल प्राइड हो। यसलाई राष्ट्रिय स्तरमा बढाउनुपर्छ। जसरी क्रिकेटको क्रेज बढेको छ । देशमा त्यसरी नै एनपीएललाई अगाडि लैजानुपर्छ। यसको आयोजना गर्नुस्। यो खेलिनुपर्छ ।’

ओलीले कर्णाली प्रदेशको सुर्खेतमा हुने भनिएको राष्ट्रिय खेदकुद प्रतियोगिताको मिति सरिरहेको विषयमा पनि आपत्ति जनाए।

उनले भने, ‘अब राष्ट्रिय खेलकुद मंसिरमा हुन्छ। मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिन चाहन्छु । अब लज्जाको विषय भएको छ। अब निर्धारित मिति सार्न मिल्दैन ।’

त्यसैगरी प्रधानमन्त्री ओलीले कीर्तिपुरमा अहिले बन्दै गरेको रंगशाला सानो देखेर चिन्ता नगर्न पनि आग्रह गरेका थिए ।