Bagmati Samachar Logo

कांग्रेस भित्र शेखर समूहको निष्कर्ष : संस्थापनसँग सशक्त प्रतिरोध गर्ने, कारबाही नमान्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले पार्टीको संस्थापन पक्षले गरेको अनुशासनको कारबाहीलाई नमान्ने निर्णय गरेको छ।

आज बिहान नेता कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा बसेको संस्थापन इतर समूहको बैठकले संस्थापन पक्षले अनुशासनको नाममा गरेको कारबाही पूर्वाग्रही र इतर समुहलाई सक्ने रणनीति अनुसार भएको निष्कर्ष निकालेको छ।

बैठकपछि नेता कोइरालाले संस्थापन पक्षले गरेको अनुशासनको कारबाही अवैधानिक भएको बताए। उनले भने, ‘कारबाही अवैधानिक छ। व्यक्तिहरु छानीछानी कारबाही गरिएको छ, यो अस्वीकार्य छ ।’

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले कोइराला पक्षका नेताहरूलाई कारबाही गरेपछि नेता कोइरालाले आज आफ्नो सम्पर्क कार्यलयमा आफू पक्षीय नेताहरूको बैठक बोलाएका हुन्।

बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य संजय गौतम लगायत काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरु सहभागी थिए। बैठकमा कृषिमन्त्री रामनाथ अधिकारी र खेलकुदमन्त्री तेजुलाल चौधरी पनि सहभागी भएका थिए।

कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने र न्याय दिलाएरै छाड्ने निष्कर्ष बैठकले निकालेको छ। कारबाही पार्टी विधान बिपरित र एकातर्फी भएको ठहर पनि बैठकले गरेको छ।

सभापति शेरबहादुर देउवालाई कारबाही प्रक्रिया अगाडि नबढाउन आग्रह गर्ने निष्कर्ष निकाल्दै बैठकले कारबाही निर्णयको राजनीति रुपमा शसक्त प्रतिरोध गर्ने निष्कर्ष पनि निकालेको छ।

आजको भेलाले केही समयपछि अर्को ठूलो भेला गर्ने निष्कर्ष निकालेको छ।