Bagmati Samachar Logo

सर्लाहीका एसपीलाई अपशब्द प्रयोग गर्ने जसपा नेताविरुद्ध जिल्लामा मुद्दैमुद्दा

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजावादी पार्टी (जसपा) का मधेस प्रदेश समिति अध्यक्ष अशोक यादव पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ।

सर्लाही जिल्ला प्रहरी कार्यालयका एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएको आरोपमा पक्राउ पुर्जी जारी गरिएका यादवलाई प्रहरीले खोजिरहेको हो।

उनलाई तत्काल पक्राउ गर्न जिल्लामा रहेका सम्पूर्ण प्रहरी युनिट खटाइएको सर्लाही जिल्ला प्रहरी कार्यालय प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए।

खड्कालाई अपशब्द प्रयोग गरेपछि पक्राउ पुर्जी जारी भएका अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश नेता तथा पूर्व प्रदेशसभा सदस्य अशोक कुमार यादवको लामो आपराधिक पृष्ठभूमि रहेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले शनिबार सार्वजनिक गरेको विवरणअनुसार, यादव पटक–पटक आपराधिक गतिविधिमा संलग्न भएको देखिएको हो । प्रहरीले दिएको जानकारीअनुसार, यादवमाथि चोरी, अभद्र व्यवहार, र ज्यान मार्ने उद्योग जस्ता गम्भीर आपराधिक मुद्दा दर्ता छन् ।

यस्तो छ यादवमाथि मुद्दाहरूको विस्तृत विवरण

२०५७ पुस ८ गते मलंगवा नगरपालिका १० स्थित जिल्ला कृषि विकास कार्यालयमा कार्यरत नथुनी साहमाथि गालीगलौज र हातपात।

२०६६ असोज १० गते सलेमपुर, सर्लाहीस्थित जिल्ला शिक्षा कार्यालयको गाडी रोकी, सिसा फुटाई १ लाख ५० हजार ४०० रुपैयाँ नगद लुटिएको आरोप।

२०७२ पुस ५ गते जिल्ला प्रशासन कार्यालय, सर्लाहीको नागरिकता तथा राहदानी फाँटमा कम्प्युटर, प्रिन्टर तोडफोड र कर्मचारीमाथि हुलहुज्जत गरी अभद्र व्यवहार गरेको।

२०७२ फागुन ५ गते मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएको प्रहरी टोलीमाथि गालीगलौज गरेको। (मुद्दा अभद्र व्यवहार)

२०७३ साउन १३ गते  सिँचाइ विकास डिभिजन कार्यालय, मलंगवाका कर्मचारीलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएको। (मुद्दा अभद्र व्यवहार)

२०७३ मंसिर २९ गते सलेमपुर, सर्लाहीमा प्रहरी चेकजाँचमा अवरोध, गालीगलौज र हातपातको प्रयास।

२०७७ जेठ २७ गते  चक्रघट्टा, सर्लाही सडक जग्गा सम्बन्धी विवादमा राज नारायण रायमाथि कुटपिट गरेको (मुद्दा  ज्यान मार्ने उद्योग) ।
पछिल्लो घटना र पक्राउ पुर्जी :

सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेको घटनामा यादवविरुद्ध सर्लाही जिल्ला अदालतबाट शुक्रबार पक्राउ पुर्जी जारी भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, उनीविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी भएको हो।

बिहीबार राति सर्लाहीका एसपी खड्का र जसपाका प्रदेश अध्यक्ष यादवबिच फोनमा गालीगलौज भएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको हो।

प्रहरीले यादवलाई नियन्त्रणमा लिन उनको गाउँ कबिलासी नगरपालिका–१० मा प्रहरी पठाउँदा प्रहरी र स्थानीयबिच झडप भएको थियो। डीएसपी राईका अनुसार, सोही क्रममा स्थानीयले प्रहार गरेको ढुङ्गामुढाले डीएसपी चढ्ने ना १ झ १२८१ नम्बरको गाडीमा क्षति पुगेको छ। प्रहरीको गाडीमा क्षति भएपछि अहिले यादवमाथि मुद्दा चलाउने तयारी भइरहेको सर्लाही प्रहरीले जनाएको छ।