Bagmati Samachar Logo

कुलिङ पिरियडको गडबडीबारे छानबिन गर्न संसदीय समिति बनाउने सहमति, ,कांग्रेसले नेतृत्व गर्ने

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा राखिएको कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न विशेष संसदीय छानबिन समिति बन्ने भएको छ ।

शनिबार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको प्रमुख दलका प्रमुख सचेतकहरूसँगको बैठकले कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्न विशेष संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको हो ।

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै एमालेका मुख्य सचेतक महेश बर्तौलाले कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्न सात सदस्यीय विशेष संसदीय छानबिन समिति बनाउने सहमति भएको बताए ।

उनका अनुसार समितिमा कांग्रेस र एमालेका २–२ जना सदस्य रहनेछन् । यस्तै, प्रमुख विपक्षी दल माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका तर्फबाट समितिमा १–१ जना सदस्य रहने मुख्य सचेतक बर्तौलाले जानकारी दिए ।

सभामुख घिमिरेले संघीय संसदको नियमावलीको १८० बमोजिम संसदीय समिति बनाउने निर्णय गरेका हुन् । समितिको नेतृत्व कांग्रेसले गर्नेछ ।

एमाले मुख्य सचेतक बर्तौलाका अनुसार, समितिलाई छानबिनका लागि १५ दिनको समयावधि दिने सहमति भएको छ । समितिमा रहने सदस्यहरूको नाम भने सोमबार सार्वजनिक गरिनेछ ।

सभामुखले भोलिसम्म सबै दलहरुलाई नाम पठाउन निर्देशन दिएका छन् । पर्सी बस्ने कार्यव्यवस्था समितिको बैठकले यसलाई अन्तिम रुपमा दिने छ ।
माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सोमबार बस्ने प्रतिनिधिसभा बैठक अघि सबै दलले समितिमा रहने सदस्यहरूको नाम उपलब्ध गराउने जानकारी दिए ।

यसैगरी, छलफलमा संसद्को आगामी बैठकको क्यालेन्डरका विषयमा समेत छलफल भएको छ । जस अनुसार असार महिनामा २३, २४, २५, २९, ३० र ३१ गते प्रतिनिधिसभाको बैठक बस्ने नेताहरूले जनाएका छन् ।