मलेसियाविरुद्ध सानदार जित निकाल्दै एसीसी पुरुष यू–१६ इस्ट जोन कपको फाइनलमा नेपाल
काठमाडौं । नेपाल एसीसी पुरुष यू–१६ ‘इस्ट जोन’ कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न खेलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध सानदार जित निकाल्दै फाइनलमा स्थान बनाएको छ ।
टस जितेर बलिङ गरेको नेपालले मलेसियालाई ९० रनमा अलआउट गरेको थियो । जितका लागि ९१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १ विकेटको क्षतिमा ११.४ ओभरमा ९२ रन बनाउँदै जित निकालेको हो ।
नेपालका लागि परिमार्जन यादवले नटआउट ५९ रनको अर्धशतकीय पारी खेलेका थिए । ३५ बलको सामना गरेका उनले ५ चौका र ५ छक्का प्रहार गरेका थिए । अर्का ओपनर प्रसिद्ध जैसी २ रन बनाउँदै आउट हुँदा सिवांश बजगाईंले २२ बलमा ४ चौका हान्दै २३ रन जोडे ।
त्यसअघि मलेसियाको सेलेङ्गर ट्रफ क्लबमा भएको खेलमा नेपालको कसिलो बलिङका सामु मलेसिया ४३.१ ओभरमा ९० रनमा अलआउट भएको थियो । मलेसियाका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन जोडे । त्यस्तै कप्तान दियाज पात्रोले १० रन बनाउनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि अभय यादवले ४ विकेट लिँदा शुभम खनालले ३ विकेट लिए । त्यस्तै कप्तान विपिन प्रसाद शर्मा र सचिन दासले १–१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्: