सिडिओद्धारा मकवानपुरको जिल्ला प्रशासनमा पत्रकारलाई फोटो र भिडियो खिच्न रोक
हेटौँडा । मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जिल्ला प्रशासन कार्यालय परिसर र आफ्नो कार्यकक्षमा फोटो भिडियो खिच्न रोक लगाएकी हुन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुर छिर्ने गेट र प्रजिअको कार्यकक्ष बाहिर ‘अनुमति बिना फोटो भिडियो खिच्न मनाही छ’ लेखिएको पम्प्लेट टाँसिएको छ ।
बुधबार पत्रकार महासंघ मकवानपुरका प्रतिनिधिहरुसंगको छलफलका क्रममा प्रशासनको बाध्यताका कारण फोटो भिडियो खिच्न रोक लगाइएको प्रजिअ श्रेष्ठले बताइन् । आम नागरिकदेखि पत्रकारलाई समेत अनुमतिविना फोटो भिडियो खिच्न नपाइने बताइन् ।
पत्रकारलाई फोटो र भिडियो खिच्न रोक लगाइएको विषयमा ध्यानाकर्षण गर्न गएको पत्रकार महासंघ मकवानपुरको टोलीलाई प्रजिअ श्रेष्ठले अनुमतिविना प्रशासनको कुनै पनि गतिविधि खिच्न रोक लगाइएको प्रस्ट पारिन् । संसद्मा त सबै भिडियो खिच्न पाइन्छ, यहाँ किन नपाइने भन्ने पत्रकारहरूको जिज्ञासामा उनले प्रशासन कार्यालय सरकारको सुरक्षा दिने अड्डा भएकाले सुरक्षा संवेदनशीलता कारण भएको बताइन् ।
‘यहाँ धेरै किसिमका मानिसहरू आउँछन्, जे जस्तो पनि बोलिरहेका हुन्छन् । सबै विषयको भिडियो बनाउँदा उनीहरूलाई नै अप्ठेरो हुनसक्छ । त्यसैले मैले नोटिस नै टाँसेर यो विषयमा अनुमति लिनुपर्ने भनेको छु ।’ उनले भनिन्, ‘यो कार्यालय संसद् जस्तो पनि होइन, त्यहाँ त जिम्मेवार सांसदहरू हुन्छन् । संसद्मा बोलका विषयमा कुनै अदालतमा कुरा उठाउन पाइँदैन । प्रशासन कार्यालयमा जो जस्तो पनि मानिसहरू आएर जे जस्तो पनि बोलिरहेका हुन्छन् । सबै कुरा खिचेर सार्वजनिक गर्दा भोलि बोल्नै मानिसलाई नै अप्ठेरो हुन्छ । त्यसैले भिडियो खिच्न अनुमति लिनुपर्ने बनाएको हुँ ।’
गत असार ६ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरमा समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई प्रजिअ श्रेष्ठले भिडियो खिच्न रोक लगाएकी थिइन् । सो विषयमा पत्रकार महासंघको जिल्लादेखि केन्द्रीय समितिसमेतले विज्ञप्तिमार्फत फोटो भिडियो खिच्न रोक लगाइनु प्रेस स्वतन्त्रताको हनन् भएको भन्दै विरोध जनाएको थियो ।
महासंघ मकवानपुरको असार १२ गते बसेको बैठकले प्रशासनमा फोटो भिडियो खिच्न रोक लगाएको विषयमा खेद प्रकट गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्: