एमालेको राजनीतिमा फर्केको विद्या भण्डारीको घोषणा (पूर्णपाठ)

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गरेकी छन् ।
मदन भण्डारीको जन्म जयन्ती कार्यक्रममा भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ एकाले पार्टी सदस्यता नविकरण गरेको र परिवारको एक सदस्यको रुपमा पुनः जोडिएको घोषणा गरेकी हुन् ।
उनले भनिन्, ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन ।’
उनले देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य रहेको बताइन् । उनले भनिन्, ‘जननेताले भन्ने गर्नुहुन्थ्यो जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन । आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु । व्यवहारका कसीबाट खारिएका यी भनाईलाई आदर्श मानेर म समर्पित बनिरहनेछु ।’
राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका बुझाएका छन् र थप परिपक्व समेत बनाएको बताइन्।
पूर्वराष्ट्रपति भण्डारीले थपिन्, ‘मलाई जस्तै विगतले अरुलाई पनि महत्वपूर्ण शिक्षा र अनुभव अवश्य दिएको छ । समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनुपर्दछ । सदा झैं सबैको सधैँभरि माया र विश्वास पाइरहुँ ।’
जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा सामाजिक–आर्थिक रूपान्तरण गर्ने दायित्व बाँकी नै रहेको उनले बताइन् ।
नेकपा एमाले सक्षम छ र निर्णायक राष्ट्रिय शक्ति निर्माण गरी यसलाई अक्षुण्ण राख्दै नेपाललाई विश्वसामु एक समुन्नत राष्ट्रको रूपमा चिनाउन सफल हुने बताइन् ।
प्रतिक्रिया दिनुहोस्: