Bagmati Samachar Logo

पार्टीभित्रको द्वन्द्व विधिसम्मत प्रकट हुन पाएन भने असन्तुष्टिले विस्फोटको रूप लिन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्रको द्वन्द्व विधिसम्मत रुपमा हल हुन पाएन भने असन्तुष्टिले विस्फोटको रूप लिने बताएका छन् ।

मदन जयन्ती समारोहलाई सम्बोधन गर्दै पोखरेलले उक्त कुरा बताएका हुन् । उनले भने, ‘कम्युनिस्ट पार्टीभित्र नेतृत्व अनिर्वाचित हुने,सत्ता हस्तान्तरण नगर्ने प्रवृति हटाउन जबजको सिद्धान्तको प्रयोग गर्नुपर्छ । पार्टीभित्रको द्धन्द्धलाई विधिसम्मत प्रकट हुन दिइएन भने विष्फोट हुन्छ । राजनीतिमा विधिसम्मत प्रकट हुन नपाए विद्रोह हुन्छ,विग्रह पैदा गर्छ । त्यस्तो अवस्थामा विग्रह विद्रोह गर्नेलाई मात्र दोष दिएर पुग्दैन । हाम्रा कार्यशैलीमा कहाँ कमजोरी छन् भन्ने विश्लेषण गर्नुपर्छ । अशन्तुष्टि निश्चित विन्दूमा पुगेपछि विष्फोट हुन्छ ।’

पोखरेलले बहुपदीय सङ्गठनात्मक संरचना पार्टी केपी ओलीकै अगुवाइमा भएको बताए ।

उनले भने, ‘पार्टी जीवनको लोकतान्त्रीकरण गर्ने क्रममा त्यसका अंगहरु के के हुनसक्छन् भन्नेबारे बहस भयो । पार्टीको ९ औँ महाधिवेशनमा पारित दस्तावेजमा पार्टी जीवनका सबै कुराहरू समेटिएका छन् । एमाले पार्टीभित्र लोकतान्त्रीकरणको पक्षमा दृढतापूर्वक उभिन्छ भनेर त्यसपछि दुनियाँले चिन्यो ।’

उनले एमाले र माओवादीबीच एकता भएपछि विचारका धेरै कुरा स्थगित भएको स्मरण गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले थपे, ‘विचारका धेरै पक्षहरू कमजोर बने, त्यसपछि हामी के भयौँ भयौँ भन्ने स्थिति छ । त्यो एकता टुटेपछि एमाले नयाँ ढङ्गले अघि बढ्यो । पुनर्जीवन प्राप्त गरेपछि १० औँ महाधिवेशनमा घनीभूत छलफल भयो । विधान, सङ्गठनात्मक र राजनीतिक प्रस्ताव पारित भयो । तीन दशकदेखिको छलफल बहस र अनुभवहरू समेटिएर निकालिएको निष्कर्ष छ ।’