माधव नेपालले तत्काल अध्यक्ष नछाड्ने, सफाइ पाउने विश्वास
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधव नेपालले तत्काल पद नछोड्ने भएका छन् । शुक्रबार बसेको छैटौं सचिवालय बैठकले पार्टी अध्यक्षमाथि राजनीतिक प्रतिशोधका साथ भ्रष्टाचारको मुद्दा लगाएर फसाउन खोजेको निष्कर्ष बैठकले निकालेको छ । उनलाई पतञ्जली जग्गा प्रकरणको बारेमा विस्तृत रूपमा धारणा राखेका थिए ।
पार्टी प्रवक्ता तथा उपाध्यक्ष प्रकाश ज्वालाले बैठकमा नेपालले आफ्नो धारणा राखेको बताएका छन् ।
‘हाम्रो पार्टीमाथि स्थापनाकालदेखि नै षड्यन्त्र र प्रहारहरू हुँदै आएको छ र अध्यक्ष नेपालमाथि भ्रष्टाचारको मुद्दा लगाइनुलाई यसको शृङ्खलाकै रूपमा रहेको हाम्रा नेताहरूले बैठकमा धारणा राखेका छन्,’ उनले भने ।
ज्वालाले पार्टी अध्यक्षकै रूपमा नेपालले बैठकको अध्यक्षता गरिरहेको र संसदीय दलको नेताबारे संसदीय दलकै बैठकबाट निर्णय गरिने बताए ।
बैठकका वक्ताहरूले समकालीन नेताहरूमा सबैभन्दा स्वच्छ, सादगी र किफायती जीवनशैली बाँचिरहेका नेपालमाथि नै भ्रष्टाचारको मुद्दा लगाउनु राजनीतिक प्रतिशोधको प्रतिफल भएको निष्कर्ष निकालेको प्रवक्ता ज्वालाले जानकारी दिए ।
‘यो पार्टी र आन्दोलनमाथिकै प्रहार हो भनेर साथीहरूले कुरा राख्नुभएको छ,’ उनले भने, ‘हामीमाथि राजनीतिक प्रतिशोधका साथ प्रहार गरिएकोले कानुनी उपचारका निम्ति सबैखाले प्रयास गरिनेछ, कानुनी रूपमै फेस गर्छौं, हामीले सफाइ पनि पाउँछौं ।’
बैठकमा आज केही नेताहरूले धारणा राखेको र बाँकी नेताहरूले शनिबार बिहान बोल्ने उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्: