Bagmati Samachar Logo

कांग्रेसले पार्टी कार्यालय विस्तार गर्न किन्यो १३ करोडको जग्गा

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय पार्टी कार्यालय विस्तार गर्न जग्गा र घर खरिद गरेको छ। हाल कार्यालय ललितपुरको सानेपामा रहेको परिसर अगाडिपट्टि १९ आना थप जग्गा र एउटा घर खरिद गर्ने सम्झौता भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

नेपाली कांग्रेस, केन्द्रीय कार्यालय भवन रहेको ललितपुरको सानेपास्थित कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउन उद्देश्य साथ कार्यालय अगाडीपट्टी रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा) जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरिएको विज्ञप्तीमा जनाएको छ।

ललितपुरकै अमिरमान अमात्यको नाममा रहेको सो जग्गा र घर नेपाली कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्न असार ११ गते महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठले सम्झौता गरेका हुन्।

जग्गा धनीसँग १ वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैना सहित सम्झौता भएको छ। घर जग्गा खरिदका लागि आवश्यक १३ करोड रुपैयाँ, पार्टीको विभिन्न तहको लेवि एवं शुभेच्छुकहरूको सहयोगमार्फत चुक्ता गरिने कांग्रेसले जनाएको छ।