ओलीले अध्यादेशबाट शासन चलाउने दाउ देखेपछि संसद खाले, नबुझेर हाम्रै साथीहरूले मविरुद्ध घेराबन्दी गरे : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले प्रतिपक्षले सदन नखोली दिए हुन्थ्यो सोचेको बताएका छन् । ओलीले संसद अवरुद्ध भएपछि अध्यादेशबाट शासन चलाउन चाहेको कुरा बुझेर संसद खोल्न आफू तयार भएको बताएका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीभित्रबाटै कुरा नबुझेर आफू विरुद्ध घेराबन्दी गरेको गुनासो गरे।
यस्तो छ प्रचण्डको सम्बोधन
कहिले तपाईंहरुले सोच्दा मानौँ परिस्थिति सामान्य छ, नेतृत्वले जता भन्यो त्यतै गइहाल्छ देश भनेको जस्तोगरी सोचेकोजस्तो लाग्छ । त्यस्तै छै स्थिति ।
हिजो दुई तिहाइको हाम्रो नेतृत्वको सरकार हुँदा सरकारका नेतृत्व संविधान र गणतन्त्रविरुद्ध घात गर्ने ढङ्गले अघि बढ्दा हामी विद्रोह गरेर सडकमा गएर पलेँटी कसेर विरोध गर्नुपरेको बाध्यता संसदीय प्रणालीमा यस्तो हुँदैन ।
नेपालमा मात्रै यस्तो भएर माओवादीले मात्रै गर्नुपरेको छ । हामीले जनयुद्धको बलमा ल्याएको संविधान आफ्नो पार्टी नेतृत्वको सरकारले उल्ट्याउने ढङ्गले गइसकेको थियो । हामीले हाम्रो नेतृत्वको सरकार भनेर बसेको भए संविधान सायद उल्टिसकेको हुन्थ्यो होला ।
दुई दुई पटक पटक संसद् विघटन गरेको, हामीले त्यसका विरुद्ध एक महिनामा तीन पटक लाखौँ जनता सडकमा उतारेपछि संविधानमाथिको घात रोकिएको हो । त्यसैले अहिले पनि संविधानको रक्षा गर्ने जिम्मेवारी छ ।
कहिले प्रतिपक्षमा हुँदा पनि सत्तापक्षको भूमिका खेल्नुपर्ने अवस्था आउँछ । अहिले पनि हामीले धेरै मेहनत गरेर सङ्घीय निजामती, विद्यालय, नागरिकता विधेयक, शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउनुपर्ने आवश्यकता यही सदनबाट गर्नुपर्नेछ ।
तर सरकारको नेतृत्वले अवरोध भइराखोस् भन्ने चाहेको छ, हाम्रा धेरै साथीहरूले बुझेनन्, मलाई दुःख छ। पटक्कै नबुझेर खत्तम गर्यो भनेकोजस्तो गर्छन् । अहिले पनि सरकारको नेतृत्वले सदन नचलेदेखि, सदन भंग भइदिएदेखि अध्यादेशबाट सबै गर्ने, बजेट होस् वा अन्य विधेयकको कुरा। अध्यादेशबाट ल्याउन चाहेको बुझियो हामीले ।
अर्कोतिर सत्तामा भएकाहरूको बीचमा जति दूरी छ, के हो भन्ने पनि हामीले बुझ्नुपर्नेछ। त्यही अनुसार चाँडै परिणाम आउँदै छ । एक थरी मानिसहरूले गलत प्रचार गरेर नेतृत्वलाई कसरी घेराबन्दी गर्ने भनेर लागिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्: