Bagmati Samachar Logo

रिटाएर्ड भएर जादा कांग्रेसलाई एक बनाउने इच्छा छ : देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिबाट रिटाएर्ड भएर जादा कांग्रेस पार्टीलाई एक ढिक्का बनाउने बताएका छन् । उनले आज चितवनमा आफ्नो रिटाएर्ड हुने समय आएको बताएका छन् ।

आज शुक्रबार नेपाली कांग्रेस चितवनले आयोजना गरेको प्रजातन्त्र सेनानी स्व गौरीदेवी प्रधानको सातौं दिनको पूण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जलीसभामा उक्त कुरा बताएका हुन् ।

देउवाले पार्टी भित्रको गुटगत लडाइँ धेरै भएको भन्दै चिन्ता व्यक्त गरे । ‘टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ । हाम्रो पार्टीको रोग नै यही हो,’ देउवाले भने, ‘हामी एक हुने हो भने हाम्रो पार्टीले एक्लैले बहुमत ल्याउन सक्छ । म रिटायर्ड हुन लाग्या छु । यो पार्टीलाई एक बनाउने इच्छा छ ।’

पार्टीभित्र एकता भए निर्वाचनमा एक्लै बहुमत ल्याउन सकिने र अरु पार्टीसँग तालमेल गर्न नपर्ने उनले बताए । ‘एक्लैले बहुमत न आउने भएपछि कुनै न कुनै पार्टीसँग मिल्नै पर्ने बाध्यता छ,’ उनले भने, ‘हिजो माओवादीसँग मिलियो, अहिले एमालेसँग मिलिएको छ, के गर्नुहुन्छ ? हामी ठूलो पार्टी भए पनि बहुमत थिएन । हाम्रो पार्टीमा सबै एक भयौं भने हाम्रो एक्लैले पनि बहुमत ल्याउन सक्छ ।’

नेपाली कांग्रेस बलियो बनाउने बाहेक अन्य सोच आफूमा नरहेको उनले बताए । ‘यही पार्टीको सभापति भएँ, पार्टीकै कारण पटक–पटक प्रधानमन्त्री पनि भएँ, पार्टीलाई मुलुकभर बलियो बनाउने बाहेक मेरो कुनै उद्देश्य छैन,’ देउवाले भने ।

समानुपातिक र समावेशी प्रतिनिधित्वसहितको अहिलेको संविधान राम्रो भएको देउवाले बताए । ‘सबै जातजातिलाई समेट्ने छ । तर एउटै पार्टीले बहुमत ल्याउन गाह्रो छ,’ उनले भने ।