Bagmati Samachar Logo

दृष्टि न्युजका प्रकाशक र सम्पादकसँग जनही २५ हजार धरौटी माग

काठमाडौं । अदालतको अवहेलना मुद्दामा दृष्टि न्युज अनलाइनका प्रकाशक शम्भुलाल श्रेष्ठ र सम्पादक मानप्रसाद (एमपी) लिम्बुसँग विशेष अदालतले जनही २५ हजार रुपैयाँ धरौटी माग गरेको छ । विशेष अदालतका सबै ६ न्यायाधीश सम्मिलित इजलासले बिहीबार उनीहरूसँग धरौटी माग गर्ने आदेश दिएको हो ।

इजलासमा विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरसहित सदस्य न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइराला छन् । त्यसैगरी अदालतले प्रकाशक श्रेष्ठले प्रस्तुत गरेका साक्षीलाई बकपत्रका लागि असार १५ गते बिहान १० बजे उपस्थित गराउन भनेको छ ।

सुनुवाइका क्रममा नेपाल बार एशोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्र अदालतको सहयोगी (एमिकस क्युरी) को हैसियतमा उपस्थित थिए । मिश्रले एमिकस क्युरीका रूपमा मुद्दामा आफ्नो धारणा पनि राखे । साथै, अन्तिम सुनुवाइका लागि तीन जना एमिकस क्युरी पठाउन अदालतले नेपाल बारलाई अनुरोध गरेको छ ।

मुद्दा दृष्टि साप्ताहिकले गत असार ८ गते प्रकाशित ‘विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकको समाचारसँग जोडिएको छ । सो समाचारप्रति असन्तुष्टि जनाउँदै नवराज सापकोटा लगायतले प्रकाशक र सम्पादकलाई विपक्षी बनाउँदै अदालतमा अवहेलनाको मुद्दा दायर गरेका थिए ।

प्रारम्भिक सुनुवाइपछि अदालतले असार १० गतेभित्र प्रकाशक, सम्पादक र समाचारका संवाददातालाई उपस्थित हुन आदेश दिएको थियो । आदेशपछि प्रकाशक र सम्पादक अदालतमा उपस्थित भएका थिए ।

समाचारका संवाददाता विशेष रूपमा नतोकिने भएकाले सम्पादकले नै यसको सम्पूर्ण जिम्मेवारी लिएको बताएका छन् । अदालतले अर्को आदेश जारी नभएसम्म समाचार नहटाउन वा त्यसको स्वरूपमा कुनै परिवर्तन नगर्न समेत आदेश दिएको छ ।