Bagmati Samachar Logo

रास्वपा र राप्रपाले बहिस्कार गरेपनि प्रतिनिधिसभाबाट बजेट पारित

काठमाडौं । विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट पारित भएको छ ।
मंगलबार प्रतिनिधि सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्ताव बहुमतले पारित भएको छ ।

बजेट पारित गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले बहिस्कार गरेका थिए । बजेट माथि छलफल सुरु भएको दिन देखि नै उनीहरूले बहिष्कार गदै आएका थिए ।

भिजिट भिसा प्रकरणमा गृहममन्त्रीको राजीनामा माग्दै आएका उनीहरूले यो विषयमा संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायीयक आयोग गठनको माग राख्दै आएका छन् ।

यी माग पुरा नभएको भनेर दुई दलका सांसद गत जेठ १३ गते यता प्रतिनिधिसभाको कामकारबाहीका सरिक भएका छैनन् ।

मंगलबार बजेट पारित हुँदा पनि दुवै दलका सांसदहरू सभामा थिएनन् । प्रतिपक्षी दलको विरोध र अवरोधका बीच सभा सञ्चालन हुँदै थियो ।

बजेट पारित भएसँगै सभामा बजेटसँग आश्रित विधेयक आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक २०८२ अगाडि बढेको छ ।