Bagmati Samachar Logo

सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता गणेश लामाले पाए सफाइ

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले विशेष अदालतको फैसला उल्टाउँदै सोमबार उनलाई दोषमुक्त ठहर गरेको हो ।

यसअघि विशेष अदालतले २४ साउन २०७५मा लामालाई दोषी ठहर गर्दै १ वर्ष कैद सजाय, बिगो बराबरको सम्पत्ति जफत तथा त्यति नै जरिवानाको फैसला गरेको थियो । विशेष अदालतका तत्कालीन अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामाको १ करोड ४० लाख ५० हजार रुपैयाँको सम्पत्ति अवैध ठहर गरेको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामाविरुद्ध २०७० जेठ ५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विभागले उनीमाथि विभिन्न आपराधिक क्रियाकलापबाट अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लगाएको थियो ।

विशेष अदालतले अपेक्षाकृत कम सजाय सुनाएको भन्दै विभाग सर्वोच्चमा पुनरावेदनमा गएको थियो । तर, सर्वोच्च अदालतले विभागको जिकिर अपुग ठहर गर्दै लामालाई सफाइ दिएको हो ।