म्याग्दीमा बजेट नपरेको भन्दै माओवादी सांसदले च्याते बजेट पुस्तक

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित गण्डकी प्रदेश सांसद रेशम जुग्जालीले रोष्ट्रममै बजेट पुस्तिका च्यातेका छन्। उनको गृह जिल्ला म्याग्दीमा बजेट नपरेको भन्दै उनले बजेट पुस्तिका रोष्ट्रममै च्यातेका हुन्।
गण्डकी सरकारले असार १ गते ल्याएको बजेटमाथि अहिले प्रदेश सभामा छलफल भइरहेको छ।
सोमबार भएको छलफलमा सांसद जुग्जालीले आफ्नो मन्तव्य बजेट पुस्तिका च्यातेर टुंग्याएका थिए।
‘यो किताब म्याग्दीलाई कुनै अर्थ नभएकाले सभामुखको अनुमतिले च्यात्न चाहन्छु, धन्यवाद,’ उनले किताब च्यात्दै भनेका थिए।
नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धन सरकार हुँदा जुग्जाली गण्डकीको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री बनेका थिए।
एमाले र माओवादी केन्द्र गठबन्धन भएपछि जुग्जाली मन्त्रीबाट हटेका थिए भने उनको ठाउँमा मनाङबाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरूङ ‘दीपक मनाङे’ मन्त्री भएका थिए।
जुग्जालीले सोमबारको छलफलमा मुख्यमन्त्री र मन्त्रीहरूले म्याग्दीको भूगोल नबुझेको दाबी गरे।
प्रतिपक्षमा म्याग्दीबाट २ जना सांसद रहेको र उनीहरूका योजनामा विनियोजित बजेट लैजान पनि उनले सरकारलाई आग्रह गरे।
प्रतिक्रिया दिनुहोस्: