Bagmati Samachar Logo

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलन कुमार थापासहित १४ जना विरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पशुपतिमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना र हानी नोक्सानी पुर्‍याएर भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो मागदाबीसहित आइतबार मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार प्रतिवादीमा सदस्य सचिव डा.थापा, परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा, अन्य कर्मचारीहरू र दुईवटा कम्पनी रहेका छन्।

अख्तियारको दाबी अनुसार प्रतिवादीहरूले आपसी मिलेमतोमा शव दाह मेसिन खरिद प्रक्रिया सुरु गर्नुअघि नै आफू अनुकूलको कम्पनीलाई ठेक्का पार्ने योजना बनाएका थिए। यसका लागि उनीहरूले विभिन्न चरणमा बदनियत पूर्वक काम गरेको आरोप पत्रमा उल्लेख छ ।

अख्तियारका अनुसार अनुभव नै नभएको परामर्शदाता कम्पनी ‘एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी’ लाई फर्जी कोटेसनका आधारमा परामर्श सेवाको जिम्मा दिइयो। सोही कम्पनीमार्फत भारतीय ३२ लाख ५० हजार पर्ने मेसिनलाई नेपाली १ करोड ५२ लाख पर्ने देखाई अस्वाभाविक रूपमा लागत अनुमान तयार गरियो।

त्यस्तै सार्वजनिक खरिद ऐन विपरीत ‘म्याप इन्टरप्रेन्योर्स प्रालि’ नामक कम्पनीलाई मात्र मिल्ने गरी योग्यता र अनुभवको मापदण्ड राखेर अन्य कम्पनीहरू प्रतिस्पर्धामा सहभागी हुनबाट वञ्चित गराएको उल्लेख गरिएको छ ।