Bagmati Samachar Logo

इरानविरुद्ध अमेरिकाले पनि गर्‍यो आक्रमण, फोर्दोसहित ३ परमाणु केन्द्रमा बमबारी

काठमाडौं । शनिबार राती अमेरिकाले इरानमा आक्रमण गरेको छ । परमाणु केन्द्र इरानका फोर्दो, नतान्ज र एस्फाहानमा अमेरिकी सेनाले आक्रमण गरेको राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले जानकारी दिएका छन् ।

इरानका परमाणु केन्द्रमा आक्रमण गरी अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिसकेका जानकारी पनि उनले दिएका छन् ।

ट्रम्पले भनेका छन्, ‘सबै विमान सुरक्षित तरिकाले आफ्नो घरतिर फर्किरहेका छन् । हाम्रा महान् अमेरिकी योद्धाहरुलाई बधाई । विश्वमा यस्तो गर्न सक्ने सेना अरु कसैसँग छैन ।’ उनले अब शान्तिको समय पनि आएको बताएका छन् ।

अमेरिकाले इरानका परमाणु केन्द्रमा बंकर बस्टर बम प्रयोग गरिएको जनाएको छ । यो बम जमिन मुनि करिब ६० मिटर भित्र छिरेर विष्फोट हुन्छ । यो बमले कहाँ कति क्षति भयो भन्ने खुलिसकेको छैन ।

इजरायल र इरानबीच युद्ध चलिरहेका बेला अमेरिका पनि इरानविरुद्धको आक्रमणमा उत्रिएको हो । इजरायलले इरानविरुद्ध १३ जुनदेखि आक्रमण सुरु गरेको थियो ।

इजरायलले पनि इरानका परमाणु केन्द्रहरुमा लक्षित गरी आक्रमण गरेको थियो । इजरायली आक्रमणबाट इरानका दुईवटा प्रमुख युरेनियम सम्वर्द्धन केन्द्रमध्येको एक नन्ताजमा आंशिक क्षति पुगेको बताइएको थियो ।

फोर्दो फ्यूल इनरिचमेन्ट प्लान्ट पहाड मुनि भूमिगत रुपमा बनाइएको छ । यो इरानको राजधानी तेहरानबाट करिब १ सय माइल तथा कोम सहरबाट २० माइल टाढा पर्दछ ।

बीबीसीका अनुसार यहाँ युरेनियमलाई ६० प्रतिशतसम्म संवर्धित गरिन्छ, जुन परमाणु बम बनाउने युरेनियमको सीमाको नजिक हो । यो सीमा ९० प्रतिशत पुगे विश्वकै लागि खतरा हुने इरान विरोधी देशहरुको चिन्ता छ ।

इरानको फोर्दो भूमिगत आणविक भट्टीलाई अमेरिकी बंकर बस्टर बमले मात्रै ध्वस्त पार्न सक्ने बताइन्छ । ट्रम्पले फोर्दोमा बमको पूरै पेलोड खसाइएको बताएका छन् । तर त्यो बमले फोर्दो आणविक केन्द्रमा क्षति पुगे नपुगेको जानकारी पनि प्राप्त भएको छैन ।